अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजको ह्याट्रिक सहयोगमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।
इन्टरले घरेलु मैदानमा सालेरनिटानामाथि ५–० को फराकिलो जित निकालेको हो । थप दुई गोल इडेन जेकोको नाममा रह्यो । घरेलु मैदान मिलानोमा गएराति भएको खेलमा इन्टरले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल थपेको थियो ।


यो जितसँगै इन्टर मिलानले नेपोली र एसी मिलानलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको छ । इन्टरको २७ खेलबाट ५८ अंक पुगेको छ । समान खेलबाटै नेपोली र एसी मिलानको ५७ अंक छ । पराजित सालेरनिटाना १५ अंक जोडेर पुछारमा रहेको छ ।
यो हारले सालेरनिटानालाई रेलिगेसनको थप दवाव बढेको छ । २७औं चरणको खेल बाँकी रहँदा सालेरनिटाना रेलिगेसन जोनको टोलीको अंक भन्दा १० अंकले पछि छ ।