
खानीखोला, काभ्रे । काभ्रेपलान्चोक जिल्लाको खानीखोला गाउँपालिका-३ का वडा अध्यक्ष सागर लामा जिम्बाले खानीखोलाको अवस्थालाई रुपान्तरण गर्न सबै राजनितिक दल मिल्नुको विकल्प नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जिम्बाले खानीखोला गाउँपालिका भौगोलिक रुपमा विकट र दुर्गम मात्रै होइन यस क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, संचार, सडकको अवस्था पनि दयनीय रहेकोले दोश्रो स्थानिय सरकारले “हामी बनाउछौ हाम्रो खानीखोला” नारा अगाडि सारेर विकासमा निकास खोज्ने प्रयत्न गरेकाले सबै एकजुट भइ राजनितिक दलको आस्था आ आफ्नो ठाउमा छँदैछ तर खानीखोला निर्माणमा एउटै मत एउटै भावना एउटै मन गरि लाग्न आग्रह गरेका छन् ।


उनले लेखेका छन्-
प्रिय खानीखोलाबासीहरु,
काभ्रे जिल्लाको १३ वटा स्थानिय तहहरु मध्ये सबै भन्दा पिछडिएको दुर्गम क्षेत्र खानीखोला गाउपालिका हो । यस ठाउलाई डाँडापारी नामले चिनिन्छ । यस क्षेत्रमा मानव बसोबासको ईतिहास डेढ दुई सय बर्षको पेरिफेरिमा भएको देखिन्छ । मुख्यत जङ्ग बहादुर राणाको उदय भए पछि हो । यस क्षेत्रमा आज तपाईं हामी जो जति समुदायहरु छन कोहीको ७ पुस्ता बिते कोहीका ५ पुस्ता कोहीका ३ पुस्ता बितेका छन । र हाम्रा ती सबैका पुर्खाहरु हामीले सत्य बोल्नै पर्छ सबै दुख पाएर सुगम स्थानमा स्थापित हुन नसकेर विस्थापित भई यो नौ डाँडापारीको दुर्गम स्थानमा खोरे फाडेर बस्न आएकाहरु हुन र हामी सबै तिनै गरिब दुखीको सन्तानहरु हौ ।
प्रिय खानीखोलाबासीहरु,
खानीखोला विकास भईसकेको छैन । खानीखोलामा विकासको पहिलो पुर्वाधार पनि राम्रो बनिसकेको छैन । सडकको अवस्था दयनिय छ । खानेपानीको सुविधा सबै वस्तिमा पुगिसकेको छैन । शिक्षामा निकै पिछडिएको छ । सुविधा सम्पन्न अस्पताल बनिसकेको छैन । सन्चार नेटवर्कको ठुलै समस्या यथावत नै छ । केन्द्रीय विद्युत लाईन भरखर शुरु भईरहेको अवस्थामा छ । अशिक्षा बेरोजगार र गरिबिले थलिएको छ । खानीखोलाको यो अवस्थालाई रुपान्तरण गर्न सबै राजनितिक दल मिल्नुको विकल्प छैन । यहाँ कसैले कसैलाई सामन्तीको उपमा दिएर वर्ग दुश्मनमा परिभाषित गर्नु छैन । यहाँ कोही सामन्ती छैनन कोही दुश्मन छैनन । खानीखोलाको दुश्मन छ त केवल अशिक्षा गरिबी बेरोजगारी र भौगोलिक विकतता मात्र हुन ।
२०७४ को पहिलो निर्वाचित स्थानिय सरकारले केही सकरात्मक पुर्वाधारहरु निर्माण गरेका छन । हालको दोश्रो स्थानिय सरकारले हामी बनाउछौ हाम्रो खानीखोला नारा अगाडि सारेर विकासमा निकास खोज्ने प्रयत्न गरेका छन । यसकारण सबै एकजुट हौ राजनितिक दलको आस्था आ आफ्नो ठाउमा छँदैछ तर खानीखोला निर्माणमा एउटै मत एउटै भावना एउटै मन गरि लागौ । हामी सबैको साझा समस्यासँग लडौ । कसैले कसैप्रति आरोप प्रत्यारोप गर्न छोडौ बरु आ आफ्नो कमि कमजोरीलाई आत्मसाथ गरि लचकता अपनाई निकासमा लागौ । जनप्रतिनिधिहरुले अभिभावकत्वको भुमिका निर्वाह गरि सबै पक्षसँग समन्वय गरौ र सबै राजनितिक दलका जिम्मेवार ब्यक्तित्वहरुले सरकारलाई साथ दिउ । यसैमा खानीखोला र खानीखोलाको जनताको भविष्य छ ।
जय खानीखोला
सागर लामा जिम्बा
वडाध्यक्ष खानीखोला गापा – ३