
जीवन तामाङ
यु.ए.ई. : तामाङ समाज युएई समितिले आयोजना गरेको ल्होछार विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ जनवरी २६ SK7 CLUB मा सम्पन्न भएको छ । नेपाली समुदायको परम्परागत पर्व ल्होछारलाई उल्लासपूर्ण तरिकाले मनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।


कार्यक्रममा नेपाली मौलिक संस्कृति,सेलो डम्फुरे भाका, परम्परा, र पहिचानको झल्को दिने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएका थिए ।
कार्यक्रमको सुरुवात प्रमुख अतिथि एन. आर. एन. ए. एन.सि.सि युएईका अध्यक्ष तथा सयपत्री ट्राभल एन्ड टुरिजम एल.एल.सि. का संचालक बिकास शाहीले छ्युमीमा दीप प्रज्वलन गरि उत्घाटान गरेको थियो । उत्घाटन सत्रमा तामाङ समाज युएई अध्यक्ष, र स्थानीय समाजसेवीहरूको उपस्थितिमा गरिएको थियो । अध्यक्षले ल्होछारको सांस्कृतिक महत्व र यसले नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्न खेलेको भूमिकाबारे मन्तव्य राखेका थिए । प्रमुख अतिथिले पनि यस प्रकारका कार्यक्रमहरूले परदेशमा रहेका नेपालीहरूको आत्मीयता बढाउने र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने कुरा उल्लेख गरे ।
सांस्कृतिक प्रस्तुतिमा तामाङ सेलो गित र नृत्यले विशेष आकर्षण बनेको थियो । विभिन्न कलाकारहरूले नेपाली भेषभूषामा आफ्ना प्रस्तुतीहरूले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।
कार्यक्रमको अर्को विशेष पक्ष भनेको ल्होछारको परम्परागत खाना थियो । सहभागीहरूलाई तामाङ समुदायको सेलरोटी, खाप्सी लगायतका परिकारहरूको स्वाद चखाइएको थियो। यसले कार्यक्रममा मौलिकता थपेको थियो ।
यस अवसरमा तिनजना कलाकार समेत सम्मानित भएको छ सम्मानित हुनेमा चर्चित लोक गायिका मनमाया वाइबा, चर्चित गायिका सुमिना ल्हो,गायक सन्जिब घिसिङ सम्मानित तथा पुरस्कार वितरण कार्यक्रम पनि सम्पन्न गरियोको थियो । नेपाली समुदायको प्रगति र पहिचानका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई पनि सम्मानपत्र प्रदान गरियको थियो ।
समापनतर्फ, समितिका अध्यक्षले सबै सहभागीप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता जनाए। उनले ल्होछारजस्तो पर्वले नेपालभित्र मात्र होइन, परदेशमा पनि नेपाली समुदायलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
समग्रमा, तामाङ समाज युएई समितिको ल्होछार विशेष सांस्कृतिक कार्यक्रमले नेपाली समुदायलाई आफ्नो भाषा, संस्कृति, र परम्परा जोगाउन र फैलाउन प्रेरणा प्रदान गरेको छ । यसले परदेशमा पनि नेपालीको मौलिक पहिचान झल्काउन महत्वपूर्ण भूमिका खेलेको छ ।