काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाली महिला टोलीलाई बंगलादेशविरुद्ध जित्नै पर्ने दबाब छ। बंगलादेशको ढाकास्थित बसुन्धरा किंंग्स एरिनामा हुने खेल साँझ पौने ७ बजे सुरु हुनेछ।
डबल राउण्ड रोविनको अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई हराए उपाधि जित्नेछ। बराबरी या हारको नतिजाले पनि नेपाल उपाधिबाट टाढिनेछ। घरेलु टोलीसँग बराबरी या हारको नतिजाले पनि बंगलादेशले उपाधि जित्नेछ। नेपालले आजको खेलमा घरेलु टोलीलाई पराजित गरे गोल अन्तरमा अघि रहँदै उपाधि जित्नेछ।


राउण्ड रोबिनको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-२ ले पराजित भएको थियो। नेपाली टोली आजको खेलमा त्यो हारको बदला लिँदै उपाधि जित्न चाहन्छ।
घरेलु टोली भने नेपाललाई लगातार दोस्रो पटक हराउँदै अपराजित रहेर उपाधि रक्षा गर्न चाहन्छ। चार देश सम्मिलित च्याम्पियनसिपमा ५ खेलबाट बंगलादेश १५ अंकमा अंकतालिकाको शीर्ष स्थानमा छ।

पाँच खेलमध्य चार खेलमा जित र एक खेलमा हार भोगेको नेपाल १२ अंकमा दोस्रो स्थानमा छ। ३ अंक भएको भुटान तेस्रो र अंक बिहीन श्रीलंका चौथो स्थानमा छन्।











