काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–४ फुलडाँडामा अवस्थित खुसी समाज (HSYC) युवा क्लबको आयोजनामा तामाङ समुदायको महान पर्व ल्होछारको अवसर पारेर आयोजित पाँचौँ ल्होछार कप फुटबल प्रतियोगिता शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।
खुसी समाज युवा क्लबको स्थापना भएको १० औँ वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिता माघ महिनाको सुरुमा प्रारम्भ भई माघ १० गते समापन भएको हो। प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो।


प्रतियोगिताको उपाधि खुसी समाज युवा क्लब ‘ए’ टिमले जितेको छ भने दोस्रो स्थान पनौति लामाज क्लबले र तेस्रो स्थान खानीखोला गाउँपालिका–५ को टिमले हासिल गरेको छ।विजेता टिमलाई रु. ५० हजार, दोस्रो हुनेलाई रु. २५ हजार र तेस्रो हुने टिमलाई रु. १५ हजार नगदसहित शील्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा बेस्ट खेलाडी पवन राई, बेस्ट गोलकिपर शिवराज स्याङ्तान र हाइ स्कोरर साजन सिङ्तान छनाेट गरेकाे थियाे ।
कार्यक्रम खुसी समाज युवा क्लबका अध्यक्ष इकमान लामा वाइबाको सभापतित्वमा भएकाे समापन समारोहका प्रमुख अतिथि खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बा, समाजसेवी तथा युवा नेता दैबलाल घिसिङ (अनुशील), शिक्षा शाखा सहजाकर्ता होमबहादुर वाइबा, खानीखोला खेलकुद संयोजक प्रेमप्रकाश लामा, वडा नं. ४ का अध्यक्ष निशान मोक्तान, अखिल नेपाल खेलकुद महासंघ काभ्रे जिल्ला अध्यक्ष बिरेन लामा, साहित्यकार तथा युवा नेता टीका थिङ, युवा नेता श्याम लोप्चन, बिजय लोप्चन, नरबहादुर थिङ, भरत लामा लगायतको उपस्थिति रहेको थियो। साथै समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष इन्द्रबहादुर थिङले “राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने नारालाई आत्मसात गर्दै यस्ता खेलकुद गतिविधि निरन्तर सञ्चालन गरिरहन खुसी समाज युवा क्लबलाई आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा गाउँपालिका सरकार तथा व्यक्तिगत रूपमा समेत आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै क्लबलाई हार्दिक बधाई तथा शुभकामना दिनुभयो।
खानीखोला गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगितामा देश तथा विदेशबाट समेत सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।










