
काभ्रे । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काभ्रेबाट म्यादी प्रहरी भर्ना हुन ३ हजार बढीले आवेदन पेश गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना शाखाका अनुसार ८ सय ३४ महिला र २ हजार ३ सय ३९ पुरुष गरी ३ हजार १ सय ७३ जना म्यादी प्रहरीको लागि आवेदन दिएका हुन् ।


काभ्रेमा १ हजार ५ सय जना म्यादी प्रहरीको कोटा छ तर जिल्ला प्रहरी कार्यालय काभ्रेमा ३ तीन हजारभन्दा बढीले आवेदन दिएको छ । सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ११ गते सम्म दरखास्त दिने समय तोकेको थियो ।
सेवा सुविधा
१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको थियो । फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन पाउने भनिएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षानिकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने बताइएको छ ।
म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरिदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने छन् । उनीहरूको बीमालगायतका अन्य सुविधा पनि हुनेछ ।