काभ्रेपलाञ्चोक । मुद्दा मिलाइदिने भन्दै २ लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार कारागार कार्यालय धुलिखेलमा जबरजस्ती करणी मुद्दामा कैदबन्दी रहेका सन्देश वैको मुद्दा मिलाइदिने भन्दै उनका बुवा धनबहादुर तामाङसँग पटक–पटक गरी २ लाख ३५ हजार रुपैयाँ रकम लिएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ का ३३ वर्षीय दिलबहादुर घिसिङ, चितवनको भरतपुर महानगरपालिका–१४ का ६३ वर्षीय गमबहादुर पौडेल र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ का ५५ वर्षीय सिंहबहादुर तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले आफूहरूको सरकारी वकिल, प्रहरी तथा न्यायाधीशसँग चिनजान रहेको बताउँदै रकम दिएमा मुद्दा मिलाइदिने आश्वासन दिएका थिए। सोही आश्वासनमा पीडितबाट पटक–पटक रकम लिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउपछि थप अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय बनेपामा पठाइएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय