काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने दाबी गरेका छन् ।
सदस्यसचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको जानकारी दिए । घिसिङले खेलाडीको नगद पुरस्कार, कीर्तिमान धारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको बताए ।


यसअघि नै सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरिसकेको छ । दुई वर्षअघि हुनुपर्ने उक्त प्रतियोगिता कोरोना महामारीका कारण स्थगन भएकामा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।
सरकारले प्रतियोगिताको मिति तोकेसँगै त्यहाँका सरोकार भएका निकायले आवश्यक प्रारम्भिक तयारी सुरु गरेका छन् । पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद निश्चित भएसँगै क्षेत्रीय खेलकुद विकास समितिमार्फत प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेलको प्रस्ताव गरिएको राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य राजेशकुमार गुरुङले बताए ।
उनले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति तत्कालै सुरु गर्नु अहिलेका लागि महत्वपूर्ण विषय रहेको उल्लेख गरे । उनले भने ‘राष्ट्रिय खेलकुदलाई भव्यरूपमा सफल बनाउनका लागि खेल पूर्वाधार नै महत्वपूर्ण हुन्छ । प्रतियोगितामा कम्तीमा ३६ वटा खेल प्रस्तावका रूपमा अघि सारिएको सदस्य गुरुङले जानकारी दिए ।