काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी स्थानीय निर्वाचनमा मेयर पदका लागि आकांक्षीहरू बढ्न थालेका छन्। पूर्वमन्त्री सुमना श्रेष्ठदेखि अमेरिकामा बस्दै आएका कलाकार अमृत लामासम्मले काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरेसँगै महानगरको चुनावी सरगर्मी बढेको छ।
अमेरिकामा बस्दै आएका कलाकार अमृत लामाले दुई साताअघि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’ मार्फत मेयर पदका लागि नामसमेत दर्ता गराइसकेका छन्।


यसैबीच, पूर्वमन्त्री सुमना श्रेष्ठले पनि बुधबार काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्।
श्रेष्ठ अघिल्लो प्रतिनिधिसभामा रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन् भने शिक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन्। पार्टीको सहमहामन्त्री रहेकी उनी पछि पार्टीबाट अलग भएकी थिइन्।
काठमाडौं महानगरको मेयरका लागि दलहरूभित्र पनि उम्मेदवार छनोटको चर्चा सुरु भएको छ। गत निर्वाचनमा मेयर निर्वाचित भएका वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि कार्यवाहक मेयरको जिम्मेवारी सम्हालिरहेकी सुनिता डंगोल पनि आगामी निर्वाचनमा मेयर पदकी बलियो दाबेदारका रूपमा हेरिएकी छन्। उनी यसअघि नेकपा एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन्। पछिल्लो समय उनी रास्वपाबाट उम्मेदवार बन्न सक्ने चर्चा पनि चलिरहेको छ।
रास्वपाले काठमाडौं महानगरको मेयर उम्मेदवार छनोटका लागि समिति बनाएर आवेदन आह्वान गरिसकेको छ। पार्टीभित्र उम्मेदवार चयनका विषयमा प्रधानमन्त्री वालेन्द्र शाह, सभापति रवि लामिछाने र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठबीच प्रभावको प्रतिस्पर्धा देखिएको बताइएको छ।
ऊर्जामन्त्री श्रेष्ठ गणपतिलाल श्रेष्ठलाई उम्मेदवार बनाउन चाहन्छन् भने पार्टी सभापति रवि लामिछानेको रोजाइमा कमलप्रसाद पन्त रहेको चर्चा छ। पन्त रास्वपा काठमाडौं महानगरका सभापति हुन्। त्यस्तै, काठमाडौं जिल्ला सभापति राजा शाक्य पनि मेयरका आकांक्षी देखिएका छन्।
कांग्रेसमा पनि उम्मेदवारको चर्चा
नेपाली कांग्रेसबाट काठमाडौं महानगर सभापति सुशन वैद्यको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ। यसअघि महानगरको उपमेयर बनिसकेकी प्रदेशसभा सदस्य हरिप्रभा खड्कीको नाम पनि चर्चामा रहेको छ।
त्यस्तै, केही समयअघि मात्रै कांग्रेस प्रवेश गरेकी प्रकृति भट्टराई बस्नेत र पूर्वमन्त्री सुमना श्रेष्ठको नामसमेत सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ। कांग्रेसका एक पदाधिकारीका अनुसार पार्टीभित्र आन्तरिक छलफलपछि मात्रै उम्मेदवारबारे निर्णय गरिनेछ।
यसैबीच, काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारको प्रभाव पनि उल्लेखनीय रहँदै आएको छ। पूर्वमिस नेपाल श्रृंखला खतिवडाले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिन सक्ने चर्चा छ।
आगामी स्थानीय निर्वाचन नजिकिँदै गर्दा काठमाडौं महानगरको मेयर पदका लागि विभिन्न दल तथा स्वतन्त्र क्षेत्रबाट आकांक्षीहरू थपिँदै गएका छन्। उम्मेदवार छनोट र चुनावी समीकरणले काठमाडौंको प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ।









