काठमाडौं । दैनिक भान्सामा प्रयोग हुने खाद्यान्नदेखि यातायात सेवासम्मको मूल्य आकासिएसँगै एकै वर्षमा समग्र मूल्यवृद्धि दर चार गुणाभन्दा बढीले उकालो लागेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार २०८२ असोजमा १.४७ प्रतिशतमा सीमित रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०८३ असोजमा आइपुग्दा ६.३७ प्रतिशत पुगेको देखिन्छ ।


खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.४६ प्रतिशत कायम हुँदा आम उपभोक्ताको खर्चभार ह्वात्तै बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशत ऋणात्मक रहेकोमा यसपटक उच्च वृद्धि देखिएको हो, जबकि गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति अघिल्लो वर्ष ३.८० प्रतिशत थियो ।
आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १.६७ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थतर्फ घिउ तथा तेल उपसमूहको मूल्य १६.४४ प्रतिशत र फलफूलको मूल्य १५.४६ प्रतिशतले चर्किएको छ । त्यसैगरी चिनी तथा चिनीजन्य पदार्थ ११.८४ प्रतिशत, माछा तथा मासु ८.९१ प्रतिशत, मरमसला ७.७१ प्रतिशत र तरकारी ७.२८ प्रतिशतले महँगिएका छन् ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्यवृद्धि १२.९७ प्रतिशत पुगेको छ । मदिराजन्य पेय पदार्थ ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरण ६.१ प्रतिशत र सुर्तीजन्य पदार्थ ५.४५ प्रतिशतले बढेका छन् ।
समीक्षा महिनामा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ । ग्रामीण क्षेत्रमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.६३ प्रतिशत र सहरी क्षेत्रमा ६.२८ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेशमा ७.३७ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१३ प्रतिशत रहेको छ ।
काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९२ प्रतिशत, तराईको ६.८८ प्रतिशत, पहाडको ६.१४ प्रतिशत र हिमालको ५.५७ प्रतिशत रहेको छ ।









