काभ्रे। शुभ दीपावली–२०८३ को पावन अवसरमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

डाँडापारी युवा क्लब नेपालको आयोजनामा महाभारत गाउँपालिका वडा नं. ४, ५ र ७ का स्थानीय युवा तथा खेलकुद क्लबस्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगिता आगामी २०८३ साल कात्तिक २२ र २३ गते सञ्चालन हुनेछ। खेलकुदको माध्यमबाट युवाहरूबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा खेलकुदको विकास र प्रतिभावान् खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि विशेष आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।

कार्यक्रममा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जानकारी दिएको छ।

आयोजकले प्रतियोगितामा सहभागी हुन तथा कार्यक्रमलाई सफल बनाउन स्थानीय युवा, खेलाडी, खेलप्रेमी र सम्पूर्ण गाउँपालिकावासीलाई उपस्थितिका लागि आग्रह गरेको छ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय