बनेपा । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा पक्षको काभ्रेपलाञ्चोक जिल्ला अधिवेशनबाट रमेशप्रसाद हुमागाईं जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
शुक्रबार (२०८३ कात्तिक २० गते) बनेपा नगरपालिका–५, चण्डेश्वरी मार्गस्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न जिल्ला अधिवेशनले हुमागाईंको नेतृत्वमा जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।


अधिवेशनबाट उपसभापतिमा कमल तामाङ र बद्रीप्रसाद खकुरेल, सचिवमा सन्तोष गौतम र श्रीराम थापा तथा सहसचिवमा उज्ज्वल प्रधान र जितमान सिंह तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ।
त्यस्तै, जिल्ला कार्यसमिति ६५ सदस्यीय रहने जनाइएको छ।
नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) जिल्ला निर्वाचन संयोजन समिति काभ्रेको आयोजनामा भएको अधिवेशन समितिका संयोजक रमेशप्रसाद हुमागाईंको सभापतित्वमा सञ्चालन भएको थियो।
अधिवेशनमा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, पूर्वकेन्द्रीय सदस्य प्रकाशशरण महत, बागमती प्रदेश सरकारका सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री कञ्चनचन्द्र बादे, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष दिल लामा, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, प्रतिनिधिसभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति रोशन पाण्डे र क्षेत्र नं. २ का सभापति कमलबहादुर ब्यञ्जु लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
अधिवेशनमा जिल्लाभरका क्षेत्रीय तथा पालिका कार्यसमितिका प्रतिनिधि, नेता–कार्यकर्ता र कांग्रेसका विभिन्न तहका प्रतिनिधिहरू सहभागी भएका थिए।
विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवा पक्षले पनि पार्टीका विभिन्न तहमा छुट्टै अधिवेशन गर्दै आफ्नो महाधिवेशनको तयारी गरिरहेको छ। काभ्रे जिल्ला अधिवेशनलाई सोही पक्षको संगठनात्मक गतिविधिका रूपमा हेरिएको छ।









