काभ्रेपलाञ्चोक। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खानीखोला गाउँपालिका वडा नं. ५ को आयोजनामा दुई महिने राष्ट्रिय जागरण अभियान तथा दीपावली, छठ र नेपाल संवत्को शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
वडा कमिटीका अध्यक्ष खडकबहादुर विकको अध्यक्षतामा आइतबार सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं पूर्व ऊर्जा राज्यमन्त्री सूर्यमान दोङ ‘लालध्वज’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दोङले नेकपा सधैँ जनताको सुखदुःखको साथी भएको उल्लेख गर्दै उत्पीडित वर्ग, क्षेत्र र समुदायको अधिकार तथा हितका लागि निरन्तर संघर्षरत रहेको बताउनुभयो।
उहाँले जनताको अधिकार र हितविरुद्ध भ्रम फैलाउने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै जनताको पक्षमा काम गर्ने पार्टीले कसैको विरोध नगर्ने स्पष्ट पार्नुभयो। पछिल्लो समय उदाएका केही नयाँ राजनीतिक शक्ति र एजेन्सीहरूले पुराना राजनीतिक दलप्रति भ्रम फैलाउने प्रयास गरिरहेको उहाँको भनाइ थियो।
नेता दोङले जनयुद्ध र जनआन्दोलनको ऐतिहासिक योगदान स्मरण गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुमा कम्युनिष्ट आन्दोलन र श्रमजीवी जनताको संघर्षको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “यदि हिजो माओवादी जनयुद्ध नभएको भए आज खानीखोलाका गाउँबस्तीमा गाडी गुडेको देख्नसमेत पाइने थिएन।” महिला–पुरुष समान अधिकार, उत्पीडित जाति, क्षेत्र तथा वर्गको समान सहभागिता र गाउँगाउँमा सिंहदरबारको अवधारणा जनताको संघर्षबाट सम्भव भएको उहाँले उल्लेख गर्नुभयो।
दुई महिने जागरण अभियानको उद्देश्य
दुई महिने राष्ट्रिय जागरण अभियानमार्फत पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने, जनताका कानुनी तथा जनजीविकासँग सम्बन्धित समस्या उजागर गर्ने र सरकार तथा स्थानीय निकायका जनविरोधी गतिविधिविरुद्ध खबरदारी गर्ने लक्ष्य राखिएको छ।
अभियानअन्तर्गत खानीखोलाका प्रत्येक वडा तथा टोलमा पुगेर जनसंवाद गर्ने, स्थानीयका गुनासा सुन्ने र कम्युनिष्ट विचार तथा सिद्धान्तलाई जनस्तरसम्म स्थापित गर्ने योजना रहेको पार्टीले जनाएको छ।
कार्यक्रममा संविधानसभाका निवर्तमान सदस्य अकलबहादुर थिङ, बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, काभ्रे जिल्ला सहसंयोजक दबैलाल घिसिङ ‘अनशुल’, खानीखोला गाउँपालिका अध्यक्ष खडकबहादुर जिम्बा ‘अविरल’ तथा उपाध्यक्ष बुद्धिबहादुर स्याङ्तान ‘बाबु’ लगायत केन्द्रीय, प्रदेश, जिल्ला, पालिका र वडा तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
शुभकामना आदानप्रदान तथा सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा वक्ताहरूले दीपावली, छठ र नेपाल संवत्का अवसरमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकताको शुभकामना व्यक्त गरेका थिए।









