काठमाडौं । घरेलू मैदानमा युगान्डाविरुद्ध भएको टि-२० आई सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाल विजयी भएको छ । शनिबार दिउँसो भएको अन्तिम टि-२० आईमा युगान्डालाई ३३ रनले पराजित गरेपनि नेपाल पाँच खेलको सिरिजमा ३-२ ले पराजित भएको हो ।
जीतको लागि १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९० रन मात्र बनाउन सक्यो । युगान्डाको लागि रिता मुसामलीले सर्वाधिक २६ रन बनाउँदा केभिन अविनोले १५, शकिरा काकाइले १३ र जानेट मबाबाजीले १० रनको योगदान गरिन् ।
नेपालको लागि इन्दु बर्माले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । यस्तै सीता राना मगरले ४ ओभरमा १५ रन दिएर २ विकेट लिँदा अस्मिना कर्माचार्य र हिरान्माये रोएले एक/एक विकेट लिए ।
यसअघि टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । यो जारी सिरिजको सबैभन्दा ठुलो योगफल हो । नेपालको लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । उनले ६१ बलमा ३ चौका प्रहार गरिन् । यस्तै कविता जोशीले १८, सीता राना मगरले १७ र अप्सरी बेगमले ११ रनको योगदान गरिन् ।
युगान्डाको लागि कोंकी अवेको र फिओना कुलुमेले १/१ विकेट लिइन् ।
जीतका बाबजुत नेपालले ५ खेलको टि-२० आई सिरिज ३-२ ले गुमाएको छ । नेपालले सिरिजको शुरुवाती ३ खेलमा हार बेहोरेको थियो भने चौथो खेलमा जीत निकालाको थियो ।