काठमाडौ । साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएसँगै नेपालको तर्फबाट एएफसी कप छनोटमा स्थान बनाउन सफल भएको छ । आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जित्नै पर्ने दबाबका साथ खेलको मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै स्पष्ट तीन अङ्क जोडेर तालिकामा शीर्षता कायम राख्दा एएफसी कप छनोट यात्रा पक्का भएको हो ।
ए डिभिजन लिग अन्तर्गत सातौँ चरणको खेलबाट शीर्षस्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने निर्णय यसअघि नै एन्फाले गरेको थियो । आइतबार भएको सातौँ चरणको खेलमा आइपुग्दा सम्म पराजित रहदै मच्छिन्द्रले एएफसी कप छनोटका लागि टिकट पक्का गरेको छ । लिगमा मच्छिन्द्रले १७ अंक सहित शीर्षता बनाउँदा मनाङ मर्स्याङ्दी क्लब १६ अंकसहित दोस्रो स्थानमा रह्यो ।
त्यस्तै यसपटक एएफसी छनोट खेल्ने मनाङको सपना अधुरो भएको छ । मछिन्द्र पुलिस विरुद्धको खेलमा हारेमा वा बराबरीमा मात्रै रोकिए पनि मनाङ शिर्ष स्थानमा रहदै एएफसी छनोटमा पुग्ने निश्चित थियो । तर मन्छिन्द्रको जितसँगै मनाङलाई एएफसीमा धक्का लागेको हो ।
एएफसी कप छनोट हुनका लागि गर या मरको अवस्थामा रहेको मच्छिन्द्र सुनिल बलले पहिलो हाफमा गरेको गोल निर्णायक बने । २१ औ मिनेटमा सुनिल बलले विशाल राईको आकर्षक फ्रिकिकलाई सानदार हेड गर्दै अग्रता दिलाएका थिए । सुनिलको यो जारी लिगमा पाँचौं गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् । सोही अग्रता मच्छिन्द्रले अन्तिमसम्म जोगाउँदा पुलिस भने स्तब्ध हुन पुग्यो । दोस्रो हाफमा पछी सुधारिएको खेल पस्केका पुलिसले केही राम्रा मौका बनाए पनि सदुपयोग गर्न सकेन ।
सातौं चरणको समाप्तिमा लिग अंकतालिकाको शीर्षमा रहने टिमले यसपटक एएफसी कपको छनोट खेल्ने गरि एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) लाई आग्रह गरेको थियो । सोहीअनुसार सातौं चरणको नतिजापछि मछिन्द्र शीर्ष स्थानमा रहँदै छनोट भयो ।
जितपछि मच्छिन्द्रले ७ खेलमा १७ अङ्क जोडेको छ । मच्छिन्द्र दोस्रो स्थानको मनाङभन्दा १ अङ्कले अघि रहेको छ । मनाङ ७ खेलमा १६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । पुलिस ७ खेलमा ६ अङ्क जोडेर ११ औँ स्थानमा छ । लिगमा सोमबार पनि सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा फुटबल क्लबबीच दशरथ रंगशालामा हुनेछ ।