काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिने कार्यक्रम गरिने भएको छ ।
मंगलबार बिहान ७ बजे उनकै निवास खुमालटारमा पुगेर गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिने कार्यक्रम राखिएको गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिका सचीव रोहित गुरुङले जानकारी दिए ।
उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पर्क समन्वय समितिका केन्द्रिय सदस्यहरु, गण्डकी प्रदेश सम्पर्क समन्वय समिति सदस्यहरु, सल्लाहकारहरु, गोरखा काठमाडौं समन्वय समितिका सम्पूर्ण सदस्यहरु, ११ वटै पालिकाका सबै सदस्यहरु र विभित्र तहमा रहेर जिम्मेवारी वहन गरिहरेका सम्पूर्णलाई अनुरोध गरिएको छ ।
प्रचण्ड २६ हजार १ सय ३ मतसहित विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित भएका हुन् ।
यस्तै, नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।