काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले असोज ८ गते बिहीबारदेखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै गाउँपालिकावासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

अध्यक्ष थिङले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै बंगालको खाडीमा विकसित हुनसक्ने चक्रवातीय प्रणालीका कारण नेपालमा भारी वर्षा हुनसक्ने मौसम विज्ञान विभागको पूर्वानुमानलाई मध्यनजर गर्दै सम्भावित विपद्को पूर्वतयारीमा जुट्न आग्रह गरेका हुन्।

खानीखोला गाउँपालिकाले समेत बुधबार ‘विपद् पूर्वतयारी सम्बन्धी अत्यन्त जरुरी सूचना’ जारी गर्दै उक्त अवधिमा पहाडी भूभागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको छ। वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्का घटना निम्तिन सक्ने सम्भावना रहेकाले नागरिकलाई विशेष सतर्कता अपनाउन गाउँपालिकाले अनुरोध गरेको हो।

अध्यक्ष थिङले सम्भावित जोखिमलाई ध्यानमा राख्दै लामो दूरीको यात्रा नगर्न तथा खोला, नदी र जोखिमयुक्त क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई विशेष सजगता अपनाउन आग्रह गरेका छन्।

उनले विपद्का समयमा आवश्यक पर्न सक्ने खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको पूर्वजोहो गर्न, सुरक्षित स्थानको छनोट गर्न तथा आफ्ना महत्वपूर्ण कागजात र सामान सुरक्षित राख्नसमेत अनुरोध गरेका छन्।

‘सबै टोल तथा बस्तीमा आजैदेखि सम्भावित जोखिम र सुरक्षाका विषयमा छलफल गरौँ,’ अध्यक्ष थिङले आग्रह गरेका छन्।

उनले असोज ८ गतेदेखि १२ गतेसम्मको अवधिमा सबै नागरिकलाई आ–आफ्नो जिम्मेवारीप्रति सचेत र सजग रहन अपिल गरेका छन्।

साथै अध्यक्ष थिङले विपद्को संवेदनशील अवस्थामा कुनै पनि अफवाह, गलत सूचना वा अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। उनले आधिकारिक सूचना तथा विश्वसनीय स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन अनुरोध गरेका छन्।

सम्भावित विपद्को समयमा आफ्नो सुरक्षा, अनुशासन र सामाजिक सद्भावलाई प्राथमिकतामा राख्न आग्रह गर्दै अध्यक्ष थिङले संयमित भएर जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सबैमा अपिल गरेका छन्।

गाउँपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क, सुरक्षित र आवश्यक पूर्वतयारीसहित रहन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय