काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’ले आगामी दिनमा हुनसक्ने भारी वर्षालाई मध्यनजर गर्दै गाउँपालिकावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै अध्यक्ष जिम्बाले मौसम विभागका अनुसार पर्सि असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जानकारी गराएका छन्।


सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले उनले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।
अध्यक्ष जिम्बाले सुरक्षित स्थानमा रहन, अनावश्यक यात्रा नगर्न तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा लिन आग्रह गर्दै विपद्को सम्भावित जोखिमप्रति सचेत रहन अनुरोध गरेका छन्।
उनले भनेका छन्, “सम्भावित विपद्बाट जोगिन सम्पूर्ण नागरिक सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।”










