काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीलेहरु निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् ।
तीन दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले गए रातिदेखि ढुवानी ठप्प पारेका हुन् । गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा कार्यालयले बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको थियो । यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्र तौलपुलमा तौल लिँदा समय लाग्ने तथा प्रशासनले बोक्नुपर्ने तौलको यकिन नगरी दुःख दिएको कारण देखाउँदै व्यवसायीले ढुवानी रोकेका बताएका छन् ।


व्ययसायीले पनौती क्षेत्रबाट शुक्रबार रातिदेखि नै ढुवानी ठप्प पारेका थिए भने शनिबार राति अरनिको राजमार्ग, बिपी राजमार्ग र हेलम्बु राजमार्गका ढुवानी ठप्प पारेका हुन् । टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाउँदै आइएको छ । विसं २०७८ पुसमा काभ्रेपलाञ्चोकको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र तौलपुल व्यवस्थित गरिएको थियो ।
केराघारीमा शनिबार साँझदेखि नै चालकले मालवाहक गाडी तौलन नहुने भन्दै विरोध जनाएका थिए । सबै तौलपुलमा व्यवसायी तथा यातायात मजदुरले विरोध जनाउन थालेपछि त्यस आपसाप ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालले जानकारी दिए । प्रहरी परिचालन र विरोधका बीच नगन्य मात्रामा मालवाहक सवारी चलेको थियो ।
प्रशासनले कति तौल बोक्नुुपर्ने स्पष्ट नगरी गाडीको तौल लिएर झन्झट दिलाएको बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीको आरोप छ । तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने उनको भनाइ छ ।
तौलपुल स्थापनापछि मालवाहक सवारीले आनाकानी गर्दै भारमापन गर्न नमानेका कारण तौलपुल लथालिङ्ग अवस्थामा रहेपछि काभ्रेपलाञ्चोक प्रशासनले बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको थियो । तौलपुल स्थापनापछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न/गराउन आग्रहसमेत गर्दै आएका थिए ।
दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारी चल्ने गर्दछन् । टिपर तथा ट्रकलाई ढालाभन्दा माथि सामग्री बोकेर नहिँड्न आग्रह गर्दै आइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश थापाले बताए ।
यस्तै, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले तीन राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा नियमसङ्गत ढङ्गले भारमापन गर्नुपर्ने बताए। उनका अनुसार मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।
भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले रु एक सय ५० तिर्नुपर्ने नियम बनाइएको छ । निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ ।










