काभ्रे । काभ्रे जिल्लाको दक्षिणी भेग डाँडापारि क्षेत्रमा अवस्थित् विकट खानीखोला गाउँपालिका वडा नम्बर ४ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । खानीखोला–४ का वडा अध्यक्ष निशान मोक्तानले ‘सुशासन पारदर्शीता जवाफदेहिता, ४ नं. वडा कार्यालयको प्रतिवद्धता’ भन्ने मुला नाराका साथ आर्थिक वर्ष २०७९÷८० को वडाभित्रका विभिन्न योजनाहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको जानकारी दिए ।
गाउँपालिकामै पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ४ ले गरेको हो । वडागत रुपमा गर्ने निर्णय भएपनि अन्य वडाले सार्वजनिक सुनुवाई गरेका छैनन् ।


वडा अध्यक्ष मोक्तानले वडा सञ्चालित प्रदेश सरकार, गाउँपालिका र वडाबाट विनियोजित सबै योजनाको सम्झौता, भुक्तानी, लागत लगायतका विषयमा आम नागरिकले स्पष्ट रुपमा बुझ्ने गरी सार्वजनिक सुनुवाई गरेको बताए । वडामा कति योजना छ, कति सम्झौता भए वा कति बाँकी छ, कुन–कुन योजनाको भुक्तानी भए÷नभएको र वडामा सञ्चालिक योजनाहरुको लागत बारे प्रष्ट पारिएको उनको भनाई छ ।
खानीखोला शिक्षक महासंघको अध्यक्ष होमबहादुर वाईबाले उनले आर्थिक विषयसँग सम्बन्धित भएकाले पारदर्शीताको लागि सार्वजनिक सुनुवाई आवश्यक रहेको बताए । कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा दलका प्रतिनिधिहरुले वडाध्यक्ष मोक्तान नेतृत्वको वडा सरकारले पारदर्शी रुपमा काम गरेकोमा खुशी व्यक्त गर्दै खुलेर प्रशंसा समेत गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस खानीखोला गाउँपालिकाका कोषाध्यक्ष रुपेश लोप्चन, नेकपा (माओवादी केन्द्र) खानीखोला–४ वडा समितिका इन्चार्ज नरबहादुर थिङ, नेकपा एमालेका वडा इन्चार्ज नेत्र वाईबा, एमालेका नेता तथा स्थानीय निर्वाचन ०७९ मा वडा अध्यक्षको उम्मेदवार कृष्णबहादुर लोप्चन, श्री कुमारी माध्यमिक विद्यालयका सह–प्रधानध्यापक सञ्जय सारु, वीर प्राथमिक विद्यालयका प्रधानध्यापक भरत लामा लगायतले वडाध्यक्ष मोक्तानले गरेको कामको खुलेर तारिक गरेको हो ।
वडा अध्यक्ष मोक्तानले वडाका हरेक योजनाहरु पारदर्शी रुपमा अघि बढाउनुसँगै नागरिकको आर्थिक जीवनसँग जोडिने सिलाईबुनाई तालिम, गाउँपालिकामै पहिलो जनप्रतिनिधिस्तरबाट श्रम अभियान सञ्चालन, ५ हजार क्षमताको नर्सरी जस्ता वडाको समग्र विकासमा देखाएको अथक सक्रियाता समेत उनीहरुले तारिफ गरेर थाकेनन् । उनीहरुले वडाको विकासका सवलमा कुनै दल वा व्यक्ति विशेष नहेरी वडाध्यक्ष मोक्तानलाई विकास निर्माणको कार्यमा हरदम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै वडा अध्यक्ष मोक्तानले आगमी दिन वडाको थप विकासको लागि अझ जनताको मन जित्ने जनप्रिया काम गर्ने बताए । उनले वडाको विकास योजनाका कार्यक्रमलाई प्रभावकारी बढाउन वडाभित्रका रहेका विभिन्न राजनितिक दलसँगै जनताको सुझाव तथा मागलाई समेटेर अघि बढ्ने योजना सुनाए ।
वडा अध्यक्ष मोक्तानले सुचनाको हकबाट कसैलाई बञ्चित नगर्ने समेत बताए । उनले कुमारी माविलाई आवसिया विद्यालयको रुपमा अघि सारेको र ५ जनाको दरबन्दी समेत व्यवस्थापन भइसकेको बताए । उनले भने, ‘अब खानीखोलाका कुनै पनि बुबाआमा नभएका वा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीले पढ्न पाउने अधिकारबाट बञ्चित हुनु पर्ने छैन ।’
वडाध्यक्ष मोक्तानले अर्को आर्थिक वर्ष २०८०÷८१ देखि वर्षको दुई पटक सार्वजनिक सुनुवाई गर्ने बताए । उनका अनुसार ६÷६ महिनामा सार्वजनिक सुनुवाई गर्नु पर्ने हुन्छ । मंगलबार वडा कार्यालयमा गाउँपालिकाका प्रशासन शाखा प्रमुख तथा वडा नम्बर ४ का सचिव रामकृष्ण आर्यालले सञ्चालन गरेको सुनुवाई कार्यक्रममा ५३ जना भन्दा बढी स्थानीयको सहभागीता रहेका थिए ।










