ललितपुर । जिल्लामा वातावरण संरक्षण र फोहोर व्यवस्थापन सम्बन्धी सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोदावरी सरोकारको आयोजना तथा डिभिजन वन कार्यलय गोदावरीको आर्थिक सहयोगमा आईतबार सम्पन्न उक्त कार्यक्रमका वक्ताहरुले आ आफ्नो धारणा राखेका थिए ।
वातावरण संरक्षणको परिभाषा, यसको संरक्षण किन आवश्यक छ, वातावरण असन्तुलन, पहिले र अहिलेको वातावरणको अवस्था, फोहोर व्यवस्थापन किन र कसरी गर्न सकिन्छ, यसका चुनौतीहरु के के छन् भन्ने विषयमा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन मानव विकास तथा सामुदायीक सेवाकी प्राविधिक संयोजक साहारा मिश्रले प्रशिक्षण दिएकी थिईन् । वातावरण संरक्षणका लागि सबैको पहल आवश्यक भएको उनी बताउँछीन् ।


यस्तै, कर्मानासा खोला व्यवस्थित बनाउन ढल निकास र फोहोर व्यवस्थापन कार्यमा अनुगमन र मूल्याङ्कन प्रणाली प्रभावकारी हुन नसकेको सहभागी वक्ताहरुले गुनासो राखेका थिए। करिडोर, सुकुम्बासी बस्ती लगायत विषय उठाएका उनीहरुले वातावरण संरक्षणमा सहयोग पुर्याउन समुदायस्तरबाटै काम गर्नुपर्ने बताएका छन् । नदि किनारमा उद्योगले मात्रै नभई विभिन्न ठाँउबाट आएर खोला किनारमा गाई भैसी, सुंगुर बंगुर र हाँस कुखुरा पालेर फोहोर जति पानीमा बगाइ दिने प्रवृतिले कर्मनासा खोला फोहोर बन्दै गएकाले यसका लागि सरोकारवाला निकायले व्यवस्थित गर्नुपर्ने उनीहरुको माग छ ।
खोलामा घरको ढल मिसाईदिने प्रवृति नै फोहोर प्रदुषितको प्रमुख कारण रहेको सहभागीहरुको भनाई छ । प्रकृतीको संरक्षण नगर्दा विभिन्न वातावरणीय समस्या आउने उनीहरु बताउँछन् । यता, जनप्रतिनिधिले भने एक दुई जनाको प्रयासले फोहोर व्यवस्थापन गर्न नसकिने भन्दै सबै नागरिकले जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । आफ्नो घरबाट निस्केने फोहोरको व्यवस्थापन आँफैले गर्नुपर्छ भन्ने ज्ञान सबैमा हुनुपर्ने बताउँदै उनीहरुले विभिन्न प्रदुषणको कारक नै मानिस भएकाले यसको न्युनिकरण घरबाटै सुरु गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा डिभिजन वन कार्यालय ललतिपुरका प्रमुख रामकुमार भण्डारीले समृद्धि र दिगो विकासका लागि वैज्ञानिक वन व्यवस्थापन सँगै वातावरण संरक्षणको आवश्कतामा जोड दिए। खोला वरिपरी खाली जग्गामा उत्पादनमूलक रूखहरू रोप्नु पर्नेमा उनको जोड छ । ग्लोबल वार्मिङका कारण जैविक विविधतामा ह्रास आउने लगायत विभिन्न प्रकारका वातावरणीय समस्या देखा पर्दै गएकाले वनको सदुपयोग सँगै संरक्षणमा पनि जोड दिन तथा नयाँ बिरुवा रोप्नु पर्ने प्रमुख भण्डारीकोे सुझाव छ।
यसैगरी, गोदावरी सरोकारकी अध्यक्ष एवं गोदावरी खोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबी राजभण्डारीले वातावरण सफा राख्नु हामी सबैको कर्तव्य भएपनि तिनको हेक्का हामीले समयमै राख्न नसक्दा विभिन्न डरलाग्दा परिणामहरू आइरहेको बताईन् । सरकारले वातावरण संरक्षण गर्ने कार्यमा विद्यालयस्तरदेखि नै वातावरण प्रदूषणबारे पाठ्यपुस्तक तयारी गर्दै जनचेतना फैलाउँदै जानुपर्ने आवश्यकता रहेको उनी बताउँछीन् ।
फोहरलाई स्रोतबाटै व्यवस्थापन गर्न सके वातावरण सफा राख्न सकिने अध्यक्ष राजभण्डारीको भनाई छ । कार्यक्रममा विभिन्न टोल विकास संस्था, महिला समूह, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि, क्लबका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।










