गोदावरी । ललितपुरको गोदावरी नगरपालिका–३ पौडोलमा महिला उद्यम तथा होमस्टे तालिम सम्पन्न भएको छ । वडा नम्बर ३ को सहयोग र गोदावरी सरोकारको आयोजनामा संचालित उक्त तालिम बिहिबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख मुना अधिकारीले पर्यटन पर्वद्धनमा होम स्टे सञ्चालनले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै गोदावरीलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नको लागि मर्यादित र व्यवस्थित तरीकाले होम स्टे मार्फत अगाडि वढाउन यस तालिमले महत्वपुर्ण भुमिका खेलेको बताईन् ।


हरेक ठाउँमा महिलाहरुको पहुँच पुग्नुपर्ने भन्ने अभिप्रायले आफु लागेको समेत उनी बताउँछिन् । ”वास्तवमा हरेका ठाउँमा महिलाहरुको पहुँच पुयाउनुपर्छ भन्ने अभिप्रायले म पनि लागिरहेको छु” । उप प्रमुख अधिकारीले भनिन्, ”हरेक क्षेत्रमा महिलाहरु उद्यमी बन्नुपर्छ, महिलाहरुले आय आर्जनमा जोडिनुपर्छ भन्ने अभिप्रायले धेरै स्थानहरुमा यस्ता खालमा तालिमहरु भईरहेका छन् ।”
विभिन्न वडाहरुमा यस्ता खालका कार्यक्रमहरु आयोजना भईरहेको भएपनि निरन्तरता नपाएको उनले बताईन् । साथै, नगरपालकिाले आगामी दिनमा एउटा तालिम केन्द्रको व्यवस्थापन गर्ने योजना गरेको बताउँदै उप प्रमुख अधिकारीले आवश्यकता परेकाहरुले दश जनाको समुह लिएर आएमा व्यवसायीक बनाउने तरिकाले तालिम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् ।
यस्तै, वडाध्यक्ष सानुराजा घिमिरेले होमस्टेमा मौलिकपन देखिनुपर्ने बताउँदै होमस्टेका माध्यमबाट महिलाहरू आत्मनिर्भर हुन सक्ने भएकाले होमस्टेको प्रवर्धनमा वडाले सहयोग गर्ने बताए । तामाङ्ग समुदायको आफ्नै भाषा, कला , संस्कृति भएकाले होमस्टे अगाडि बढ्ने उनको भनाई छ । सामुदायिक घरबास कार्यक्रम मार्फत पर्यटन पर्वद्धन गर्नुपर्नेमा वडाध्यक्ष घिमिरेको जोड थियोे ।
स्थानीय उत्पादनलाई प्रवद्र्धनमा टेवा पुग्ने गरी तालिम संचालन गरिएको हुँदा तालिम अति उपायोगी भएको बताउँदै उनले तालिममा सहभागि भएका सहभागिले सिकेका सिपलाई छिट्टै नै व्यवहारमा लागु गर्न सके गोदावरीमा बाह्य एवं आन्तरिक पर्यटक बढ्न सक्ने विश्वास व्यक्त गरे । यस्तै, तालिमले होम स्टे संचालनका लागि दक्ष जनशक्ति निर्माण गर्नमा ठुलो सहयोग गरेको वडाध्यक्ष घिमिरे बताउँछन् ।
तामाङ्ग संस्कृति र वेषभूषाको संरक्षण गर्दा, पर्यटन विकाससँगै सामाजिक, आर्थिक विकासमा टेवा पुग्नुका साथै तामाङ्ग महिलाको आर्थिक रुपान्तरणको आधार नै होम स्टे बन्नेमा वडाध्यक्ष घिमिरे विश्वस्त छन् ।उनले तालिममा सहभागी भएका महिलाहरुलाई जतिसक्दो छिटो सामुदायिक होम स्टे दर्ता गरी गोदावरीमा होमस्टे संचालनमा ल्याउन सुझाव दिए ।
यस्तै, गोदावरी नगरपालिका उद्योग तथा सहकारी शाखाका ऋषिराम अधिकारीले पौडोल तामाङ्ग समुदायकोे पुरानो बस्ती भएको बताउँदै यहाँ होम स्टे संचालन गर्न सके समुदायको कला, संस्कृतीको समेत जगेर्ना हुने बताए । होेम स्टे संचालनका लागि नगरपालिकाले कार्यविधि समेत तयार पारिसकेको बताउँदै उनले पछिल्लो समय होम स्टे संचालन आधुनिकता तर्फ गईरहेकाले आफ्नो पुरानो संस्कृति जोगाउन सके भावी पुस्ताले समुदायको कला, संस्कृति देख्न पाउने बताए ।
गोदावरी आन्तरिक एवं बाह्य पर्यटक आउने ठाउँ भएकाले आफुहरुले आफ्नै गाउँमा उत्पादन हुने खाद्य वस्तुको मिठा–मिठा परिकारहरु बनाएर पाहुनालाई खुवाएर लोभ्याउन सकिने तालिममा सहभागि एक महिलाले अनुभव सुनाईन् । साथै, उनले तालिमका अवधिमा बन्दीपुर अवलोकन भ्रमण समेत गएकाले त्यहाँबाट आफुहरुले पाहुनालाई सत्कार, व्यवहार र होम स्टे संचालनका लागि थ्रुप्रै कुराहरु सिकेकाले आगामी दिनमा छिट्टै सिकेका धेरै कुरालाई व्यवहारमा लागु गर्ने बताईन् ।
त्यसैगरी, कार्यक्रमको अध्यक्ष एवं गोदावरी सरोकारकी अध्यक्ष बेबी राजभण्डारीेले तालिम लिनु मात्रै उपलब्धी नभएकाले जे कुराको ज्ञान लिइएको छ त्यो काम गरे पछि मात्रै आफू सफल हुने भएकाले आफूले सिकेको सिपलाई चाँडै व्यवहारमा ल्याउन सहभागिहरुलाई आग्रह गरिन् ।
आफुले जहिले पनि महिला उद्यमीहरुकै हितमा काम गर्ने भएकाले होम स्टे संचालन गर्नको लागि संस्थाले सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरिन् । घरमै बसेर आम्दानी गर्न सकिने होमस्टेको माध्यमबाट स्थानीय अर्थतन्त्र समेत सुधार हुने अध्यक्ष राजभण्डारीको अपेक्षा छ ।
तालिम कार्यक्रममा प्रमुख प्रशिक्षक डाक्टर आनन्द घिमिरेले होम स्टे संचालन सम्बन्धि प्रशिक्षण दिएका थिए भने अर्का महिला प्रशिक्षक शान्ता शाक्यले महिला उद्यमको प्रशिक्षण गरेकी थिईन् । प्रशिक्षणा कर्यक्रममा पर्यटकलाई सत्कार कसरी गर्ने, भाषा, सरसफाई, फोहोर व्यवस्थापन तथा पाहुनाको स्यागतका विषयमा तालिम दिईएको थियो । यस्तै, पर्यटकहरुलाई आकर्षित गर्नका लागि के के कुरामा ध्यान दिने ? पर्यटन विकासको लागि स्थानीय स्तरमा योजना कसरी बनाउने ? लगायतका बिषयमा समेत जानकारी दिईएको थियो ।
त्यसअवसरमा तालिममा सहभागि सम्पुर्णलाई प्रमाण पत्र वितरण गरिएको थियो भने कार्यक्रममा उपस्थित प्रशिक्षक तथा विशेष पाहुनाहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । त्यस बाहेक प्रयोगात्मक रुपमा स्थानीय स्तरमा उपलब्ध खाद्यान्नहरुबाट स्वादीष्ठ परिकार बनाउने कलाको बारेमा खानाहरु पकाएर देखाईएको थियो । तालिम कार्यक्रममा हिलेखर्क सामुदायीक होमस्टे र बन्दीपुर सामुदायिक होमस्टेको अध्ययन र अवलोकन भ्रमण गरी बन्दीपुर नगरपालिकामा अन्तरक्रिया समेत गरिएको थियो ।










