पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आउने जाने भएपनि संक्रमणको नाममा आर्थिक, सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएका छन्।
शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।


प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले निकै लामो समय राजनीतिक संक्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै गए। तीनै तहमा भएका निर्वाचनले राजनीतिक संक्रमणको अन्त्य गरेको छ। त्यसैले अबको हाम्रो साझा गन्तव्य सुशासन र समृद्धिमार्फत् समुन्नत नेपाल निर्माण हो।’
तीन तहका सरकारबीचको समन्वय र सहकार्य नभइ सुशासन र समृद्धिको लक्ष्य पूरा हुन नसक्ने उनले बताए। संविधानले तीन तहका सरकारहरूको कार्य र अधिकारको सूची स्पष्ट गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्दै ती कार्यभार पूरा गर्नेतर्फ सबैले प्रयत्न गर्नुपर्ने बताए।
‘सरकार आउने जाने भइरहन्छ, तर व्यवस्था संस्थागत भइसकेको र राजनीतिक संक्रमणको अन्त्य भइसकेकाले अब पनि संक्रममणको नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट हामी कसैलाई छैन,’ उनले भने।










