काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बोल्न नदिएर संसद किन अवरुद्ध गरियो भन्नेबारे आफूले बुझ्न नसकेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूलाई संसदमा कुरा राख्ने नदिएर संसद किन अवरुद्ध गरियो भन्नेबारे बुझ्न नसकेको बताएका हुन् ।


उनले स्पष्टीकरणको मौका नदिएर संसद अवरुद्ध गर्ने संसदीय अभ्यास हुन नसक्ने बताए । उनले प्रश्न गरे, ‘सदनमा स्पष्टीकरणको मौका नै नदिएर राजीनामा माग्ने के यही हो संसदीय अभ्यास ? किन संसद अवरुद्ध गरियो बुझ्न सकेको छैन । प्रधानमन्त्रीलाई स्पष्टीकरणको मौका पनि दिन नहुने हो ? यहीँ हो लोकतान्त्रिक परम्परा र विधि ?’ उनले संसदीय अभ्यास र पद्दती कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसँग थाहा भएको बताए ।
आफू भावनात्मक रहेको भन्दै उनले आफूले नियतवश नभएको बताउँदै आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले भने, ‘म अलिकति भावनात्मक छु नै म अलिकति सेन्टिमेन्टल छु नै यही त प्रचण्ड भयो । अब गर्नुहुन्छ। के ? यो कुरा नभन्दा पनि हुन्थ्यो। थोरै भावनामा आएँ। भन्ने जरुरी त थिएन त्यो कुरा। मनमा यो भनेँ। मैले राष्ट्रप्रति घात गर्ने कुरा हो त ? यो । मैले प्रधानमन्त्रीको भाषामा त्यो नबोल्नुपर्थ्यो। म ज्ञानुको बुवा भएर बोलेँ। प्रितम सिंहलाई धन्यवाद दिन पुगेँ। मेरो एउटा भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त?’
प्रधानमन्त्री दाहालले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उहाँले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताए । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्नसमेत गरे । उनले मतभेदका पनि आफ्ना सीमा र मर्यादा रहेको बताए ।
प्रधानमन्त्री दाहालले भने, “मतभेदका पनि आफ्ना मर्यादा हुन्छ, आवेग र हतारमा टिप्पणी नगरौँ ।” दलगत स्वार्थको परम्परागत प्रदर्शनबाट जनता आजित भइसकेको कुरालाई नबिर्सन समेत उनले आग्रह गरे । प्रधानमन्त्री दाहालले स्पष्टीकरणको मौका नदिई लगातार राजीनामा मागिनु संसदीय मर्यादाभित्र नरहेको स्पष्ट पारे । उनले भने, “तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो ? म सुरुदेखि स्पष्ट पार्न बसेको थिए । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन ।”










