काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ६ जनाकै मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका– ५, भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटना भएको हो।
दुर्घटनामा परी पाइलट चेतबहादुर गुरुङसहित ६ जनाकै मृत्यु भएको सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् । दुर्घटनामा पाइलट गुरुङसहित मेक्सिकन नागरिकहरू एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेसको पनि मृत्यु भएको छ ।


प्रहरीका अनुसार ६ जनाकै शव संकलन भइसकेको छ । मेक्सिकन नागरिकहरू माउन्टेन फ्लाइट गरेर काठमाडौं फर्किंदै थिए । उनीहरुको शव काठमाडौं ल्याइँदैछ ।
यसैबिच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।
प्रधानमन्त्री दाहालले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरे । यस्तै, सरकारले दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाउने भएको छ । मंगलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले छानबिन समिति बनाउने बताएका हुन् ।
मन्त्री किरातीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए ।










