मकवानपुर । जिल्लाको राक्सिराङ गाउँपालिका–३ की गंगामाया प्रजा १५ वर्षकी भइन्। उनका दौतरी साथीहरू बिहानबेलुका खेल्न निस्किन्छन् । दिउँसो हातमा कपीकलम बोकेर स्कुलतिर धाउँछन् ।
अझै पनि कति साथी लाडिएर बाआमाको काखमा लुटुपुटु पर्छन् । साथीहरू बाआमाको काखमा खेलेको हेर्दै गंगामाया आफ्नो काखकी छोरी सुमसुम्याउँछिन् ।
कपीकलम समाउने उनको कलिला हातहरूमा अर्को एक जोडी कलिला हातको भार थपिएको छ । साथीहरू झोला बोकेर स्कुल जाने उकालो चढ्दा उनी घाँसदाउरा काट्न हँसिया बोकेर रूख चढ्छिन् ।
सँगै हुर्किएका सँगीहरूले आमाले पकाएको खाना खाँदा उनी केही नआए पनि आफ्ना स्तन छोरीलाई चुसाउँछिन् । १२ वर्षको कलिलो उमेरमै आमा बनेकी उनकी छोरी अहिले ३ वर्षकी भइन् ।
आफू बच्चै हुँदा बच्चा जन्माएकी उनको दैनिकी छोरीको हेरचाह र घरको कामकाज गरेर बित्छ । अझै पनि उनलाई आमाको काखमा लुटुपुटु गर्न र साथीहरूसँग खेल्न मन नलागेको होइन तर उनको काँधमा छोरीको जिम्मेवारी आएपछि गंगामायाले आफ्नो मनलाई कठोर बनाएकी छिन् ।
सहरतिरको जस्तो मोबाइल फोन हातमा बोकेको पनि होइन । न त चिठीपत्र लेखेर लामो समय प्रेम सम्बन्ध नै बसेको हो । तैपनि एकै छिनको भेटले उनलाई विवाहसम्मको बाटोमा पुर्यायो । जसले उनको जीवनलाई एउटा अर्कै मोडमा पुर्याइदियो ।
करिब ४ वर्षअघि मामाघर जाँदा उनले आफ्ना श्रीमान्लाई पहिलोपटक देखेकी थिइन् । मामाघरको छिमेकी रहेका उनका हुनेवाला श्रीमान्सँग पहिलो भेटमा आँखा जुधे पनि बोलचाल भएन ।
पहिलो भेटमा बोलचाल नै नगरेका उनीहरू दोस्रो भेटमा विवाह बन्धनमा बाँधिएका थिए । गंगाका अनुसार उनी आफ्नो भदैलाई लिएर व्रतबन्धमा जाँदा उनीहरूले एकअर्कालाई मन पराए र सँगै बस्ने निर्णय गरे ।
‘उहाँसँग त्यस्तो धेरै देखभेट र बोलचाल भएको पनि होइन । गाउँको व्रतबन्धमा जाँदा मनपर्यो, अरूले एकअर्कालाई मन पराएको भए यतै बस भने । मैले पनि हुन्छ भनेर बसेँ’, उनले भनिन्, ‘१२ वर्षको उमेरमै नबुझीकनै जीवनको ठूलो निर्णय गरेछु ।’
कक्षा–४ मा पढ्दै गर्दा उनले १८ वर्षको किशोरसँग विवाह गरेकी थिइन् । राक्सिराङ–३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्दै गर्दा विवाह गरेकी उनको त्यसपछि स्कुलसँगको नाता टुट्यो ।
‘बिहे गरेपछि पनि स्कुल जान मन नभएको त कहाँ हो र ? तर, हाम्रातिर बिहेपछि पढ्न जानु भनेको अपराध गरेजस्तै हो । गाउँमा बसिसक्नु गर्दैनन्, त्यसमाथि मैले झन् सानै उमेरमा बिहे गरेर बच्चा जन्माएपछि मलाई समाजले हेर्ने नजर नै फरक थियो’, उनले गुनासो गरिन् ।
उनलाई आफूले सानै उमेरमा विवाह गरेर सन्तान जन्माएकोमा पछुतो मात्रै होइन लाज पनि लाग्छ । घर, परिवार, विवाह, जिम्मेवारी र मातृत्व नबुझ्दै उनले ती सबै कुरा भोगिसकेकी छन् ।
‘जसरी हामी साथीभाइ हास्थ्यौँ, खेल्थ्यौँ बिहे पनि त्यस्तै होला भन्ने सोचेकी थिएँ तर बिहे गरेपछि त बुहारी बनेर धेरै काम गर्नुपर्ने रहेछ। हाँस्ने, खेल्ने र पढ्ने भनेको त बिहेअघि मात्रै रहेछ’, उनले भनिन ।
१२ वर्षमै बिहे गरेकी गंगामायाको पहिलो विवाह थियो भने उनका श्रीमान्को दोस्रो विवाह । गंगालाई १८ वर्षमा बिहे गर्दा उनका श्रीमान्ले यसअघि अर्की किशोरी पनि भित्र्याइसकेका थिए ।
उनका अनुसार उनका श्रीमान्ले पनि पहिलो बिहे ११ वर्षको उमेरमा गरेका थिए । जेठी श्रीमतीले छोडेर गएपछि उनले गंगामायालाई भित्र्याएका थिए ।
मकवानपुरको विकट गाउँपालिकाको गरिब र पिछडिएको समुदायकी उनी गर्भवती भएको समाचारले उनको परिवारको मात्रै होइन‚ सिंगो देशकै ध्यान तानेको थियो । यो घटना २०७५ सालको मंसिरको थियो ।
१२ वर्षमा गंगामाया गर्भवती भएको समाचारले देशैभरी चर्चा पाएको थियो । सानै उमेरमा गर्भवती भएकी उनलाई सुत्केरी हुन समस्या भएपछि मकवानपुरको राक्सिराङदेखि काठमाडौंसम्म नेपाल सरकारले लग्यो ।
थापाथली स्थित प्रसूतिगृहमा एक महिना बसेपछि उनले छोरीलाई जन्म दिएकी थिइन् । करिब ३ महिना उनी अस्पतालमा नै बस्नुपर्यो । कलिलै उमेरमा नजानेर बिहे गरेर आमा बनेकी उनले गर्भवती र सुत्केरी हुँदा प्रसव पीडा मात्रै होइन परिवार र समाजबाट अपहेलित पनि हुनुपर्यो ।
उमेर नपुगी हतारिएर बिहे गरेको भन्दै गाउँलेले अनेक लाञ्छना लगाएको उनलाई अझै सम्झना छ । ‘दाइहरुले पनि सानैमा बिहे गर्नुभएको थियो । गाउँमा अरूले पनि सानो उमेरमै बिहे गरेको देखेकी थिएँ । मलाई बिहे गर्नु हुँदैन भनेर सम्झाउने पनि कोही भएन । त्यसैले मैले नजानेर त्यो बाटो रोजेँ’, पश्चात्तापको स्वरमा उनले भनिन् ।
सानै उमेरमा बिहे गरे पनि घरपरिवार र श्रीमानसँग सुमधुर सम्बन्ध रहेको उनले बताइन् । उनका श्रीमान् गाउँमै मिल चलाउँछन् । बिहान बेलुका घरमा खाना पकाउने र घाँसदाउरा गर्ने काम सकेर उनी पनि श्रीमानलाई सघाउन मिलतिरै लाग्छिन् ।
श्रीमान् नभएका वेला आफू एक्लैले पनि मिल चलाउने गरेको उनले बताइन् । आफूले सानैमा बिहे गरेर पछुतो गरिरहेको देख्दा पनि गाउँमा बालविवाह नरोकिएको उनले बताइन् ।
अझै पनि गाउँमा सानै उमेरमा बिहे गर्नेहरूको संख्या धेरै रहेको भन्दै उनी आफूले जस्तो नगर्न अरूलाई सुझाव दिन्छिन । समाचार श्रीजना नेपालले थाहा खबरमा लेखेकी छिन् ।