काठमाडौं । तामाङ पत्रकारिता पुरस्कार स्थापना गर्न तामाङ सोसाइटी अफ नर्थ अमेरिका (टिएसएनए) का अध्यक्ष लक्यान लामा र मिडिया संयोजक ङिमा लामा पाख्रिनले
एक/एक लाख गरि दुई लाख सहयोगको घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा तामाङ पत्रकार संघले दुई संस्थाबीच हुन सक्ने सहकार्यको सवालमा आयोजना गरेको छलफलमा लामा र पाख्रिनले उक्त सहयोग घोषणा गरेका हुन् ।
छलफलमा टिएसएनएका अध्यक्ष लामाले संघले विषयवस्तुको आधारमा अघि सारिने योजनाहरुमा सहयोग गर्ने आश्वासन समेत दिए ।
उनले समाज परिवर्तनका लागि संचारक्षेत्र र संचारकर्मीको ठूलो भूमिका रहेको भन्दै तामाङ समाज परिर्वतनमा तामाङ पत्रकारको योगदानप्रति आभार प्रकट गरेका छन् ।
टिएसएनए अध्यक्ष लामाले संघ तथा तामाङ पत्रकारलाई आफ्नो समुदायको आवाज निरन्तर उठाउन आग्रह गर्दै समस्यामा टिएसएनए र व्यक्तिगत तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्ध समेत व्यक्त गरे ।
तामाङ सोसाइटी अफ नर्थ अमेरिका मिडिया संयोजक तथा अग्रज पत्रकार ङिमा पाख्रिनलाई संघको तर्फबाट सम्मान गरिएको थियो ।
संघका सल्लाहकारसमेत रहेका पाख्रिनले पत्रकार संघलाई निरन्तर रुपमा सहयोग गर्दै आएका छन् । उनले तामाङ पत्रकार संघ र नेपाल तामाङ पत्रकार संघबीच संस्थागत सहकार्यलाई अघि सार्ने बताए । छलफल कार्यक्रममा संघका सल्लाहकारद्वय अमरध्वज लामा, प्रतिक ङेसुर तामाङ, पूर्वअध्यक्ष जगत दोङ, निर्वतमान अध्यक्ष विष्णु तामाङ, संघका वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जनले दुई संस्थाबीच संचालन गरिने कार्यक्रम र सहकार्यबारे सुझाव दिएका थिए ।
संघका महासचिव तिर्थ बलले संचालन गर्नुभएको कार्यक्रममा अध्यक्ष सुवास योञ्जनले स्वागत मन्तव्य राखेको थियोे भने विषयवस्तुबारे उपाध्यक्ष नेत्र तामाङले प्रकाश पारेका थिए ।