काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पुरक परीक्षा) असोज ६ र ७ गतेका लागि तय भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ।
पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ। दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा सञ्चालन हुनेछ।


नतिजा चित्त नबुझे पुनर्योग
बोर्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय रु पाँच सय तिरेर पुनर्योग गराउन सक्ने व्यवस्था गरेको अध्यक्ष शर्माले बताउनुभयो । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने पनि व्यवस्था गरिएको छ ।
विद्यार्थीले उत्तरपुस्तिका पुनः परीक्षण गराउँदा पहिले परीक्षण गरेकाभन्दा नयाँ तीनजना परीक्षकबाट जाँच गराउने व्यवस्था गरेको छ । तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्ताङ्क पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अङ्क कायम हुनेछ तर १० प्रतिशतभन्दा कम वा बढी भएमा नयाँ अङ्क कायम हुने व्यवस्था गरेको छ ।
४९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण, अङ्ग्रेजीमा बढी कमजोर
राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले मङ्गलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन् । विद्यार्थी सबैभन्दा बढी अङ्ग्रेजीमा कमजोर रहेका पाइएको छ ।
यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिनुभयो । बोर्डमा अनुसार परीक्षामा नियमिततर्फ तीन लाख ७२ हजार ६ सय ३७, आंशितर्फक ६० हजार नौ सय ५९, ग्रेड वृद्धितर्फ १४ हजार एक सय ३५ र २०७२÷७३ को ग्रेडवृद्धितर्फ एक हजार एक सय ६ जना गरी चार लाख ४८ हजार आठ सय ३७ जना सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ एक लाख ८९ हजार सात सय ११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार एक सय ४० र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६ सय ५० जना ग्रेडेड प्राप्त अर्थात् उत्तीर्ण भएका छन् । ५१ जनाको विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने थप पाँच जनाको परीक्षा रद्द गर्दै आगामी एक वर्षको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी बोर्डले कारबाही गरेको छ ।











