महाभारत ( काभ्रे) । काभ्रे जिल्लाको डाँडापारी महाभारत गाउँपालिकामा अलकत्रा मात्रै विछ्याएको सडकमा कालोपत्रे नै उप्कियो भन्दै सामाजिक सञ्जालमा गलत प्रचार गरेको भन्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रवक्ताले आपत्ति जनाएका छन् । तिनैजनाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जनतालाई भ्रम छर्ने आशयले गलत प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले कालोपत्रे सम्पन्न भएको सडक खण्डको भिडिओ आफ्नो सामाजिक सञ्जाल मार्फत पोष्ट गर्दै यथार्थ नबुझि भ्रम छर्न खोजेको बताए । ’वास्तविक बुझेर फिल्डको अहिलेको ताजा फोटो भिडियो हालेको भए राम्रो हुन्थ्यो, यो भिडियो चाँही भर्खरै २ घन्टा अगाडिको हो ।’ अध्यक्ष जिम्बाले आफ्नो फेसबुकमा पिच भएको सडक खण्डको पुरै भिडिओ शेयर गर्दै लेखेका छन् ।


गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले “आफु राम्रो देखाउन कै लागि अरुलाई नराम्रो देखाउने अनि बिरोधकै लागि मात्र बिरोध यो त मनरोगि होईन र ? सत्य तथ्य खवर जनतामा सम्प्रेषण गर्नु सबैको कर्तव्य हो । तर यहाँ वास्तविकता भन्दा फरक तरिकाले प्रचार गरि महाभारतबासिलाई भ्रम छर्ने जुन काम भैरहेको छ त्यो गलत छ, र त्यो धेरै दिन टिक्दैन । वास्तविकता जनतालाई थाहा छ । अव यहि कुरामा सबैको भलो छ आउनोस् महाभारतको बिकास र समृद्दिको लागि एक भएर सहभागि बनौ । अनुगमन र खबरदारि सङ्गसङ्गै हातेमालो गरेर अगाडि बढौला ।” उपाध्यक्ष मोक्तानले आफ्नो फेसबुकमा लेखेका छन् ।
वडा नम्बर १ का वडा अध्यक्ष एवं पालिकाका प्रवक्ता कान्छामान जिम्बाले यसअघि कालोपत्रे गर्न अलकत्रा विछ्याएको सडकको फोटो खिचेर सामाजिक सञ्जालमा अनावश्यक हल्ला गरेको बताए ’जति भागमा पिच सम्पन्न भएको त्यो ठाउँमा पिच उप्किएको छैन् । तर यसअघि पिच हाल्नका लागि निर्माण कम्पनीले अलकत्रा विछ्याएको ठाउँको फोटो खिचेर पिच उप्कियो भन्दै हल्ला चलाइयो । यसमा कुनै सत्यता छैन् ।’ प्रवक्ता कान्छामान जिम्बाले बताए ।
मंगलटार–चारकिल्ला–तिनखुट्टे–बनखु सडक २०७७ असोज २० गते बागमती प्रदेशका मन्त्री रामेश्वर फुँयालले तीनखुट्टेमा शुभारम्भ गर्नु भएका थियो । महाभारत गाउँपालिकाको तिनखुट्टे देवीटार सडक खण्डको ८.७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ४९ करोड रकम विनियोजन भएको थियो ।
निर्माण व्यवसायीको लापर्बाहिका कारण सो सडक अलपत्र परेका थिए । २०७९ असार मसान्तमा मै अवधि सकिएका सडकको लागि गाउँपालिकाले पटक पटक समयमै निर्माण कार्य सम्पन्न गर्न ताकेता गरे गरेपछि समय थप गरेर काम सुरु गरेका थिए ।
सडक फराकिलो बनाउँदै कालोपत्रेसम्म गर्ने जिम्मेवारी प्राप्त गरेको श्रेष्ठ सक्षम जेभी कम्पनीको आलटालका कारणले निमार्ण कार्य ढिला भएको थियो । समय थप पछि काम सुरु गरेर करिब १ किलोमिटर पिच सम्पन्न भएको छ । ‘पिचका लागि अलकत्रा विछ्याउँदा विछ्याउँदै बर्खा लाग्यो । बर्खामा पिच गर्न नमिल्ने भएको अलकत्रा विछ्याएको ठाउँ त्यत्तिकै थियो । लगभग ५०/६० मिटरमा अलकत्रा मात्रै हालेर छोडिएको थियो । त्यही फोटो खिचेर सामाजिक सञ्जालमा कालोपत्रे नै उप्कियो भन्दै हालेपछि गाउँपालिकाले आपती जनाएको हो ।










