काभ्रे । जिल्लाको विकट महाभारत गाउँपालिकाका ६ जनालाई कोरोना संक्रमित भएको छ । २३ जनाको स्वाब लिएर कोरोना परिक्षणबाट गर्दा ६ जनामा पोजेटिभ देखिएको हो ।
गाउँपालिकाको प्रशासकीय अधिकृत हरिसिं बिष्टका अनुसार संक्रमित हुनेमा ४ जना कर्मचारी, जनप्रतिनिधि र स्थानीय एक/एक जान रहेका छन् ।
कोरोना संक्रमित हुनेमा वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहेको छ भने अर्का स्थानीय पनि सोही वडाको रहेका छन् ।
त्यस्तै संक्रमित कर्मचारीमा गाउँपालिकामै बस्ने वडा नम्बर २ लगायत विभिन्न वडाको रहेको छ । संक्रमित ६ जना नै गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका छन् ।
नागरिकता बनाउन आउने मान्छे र कतिपय कर्मचारी काठमाडौबाट पालिका आवतजावत हुनले महाभारतमा कोरोना फैलिएको अनुमान गरिएको छ ।
काभ्रेमा १५४ जनामा कोरोना पुष्टि
महाभारतमा ६ जना सहित काभ्रेमा १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले ४१७ जनाको परिक्षण गरिएकोमा १५४ जनालाई कोरोना पुष्टि भएको जनाएको छ ।
चौरीदेउराली गाउँपालिकामा १२ जनामा गरिएको परिक्षणमा सबैलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन यता काभ्रेमा कोरोना संक्रमितको संख्या बढ्दै गएका छन् ।