काठमाडौ । प्रदेश २ ले सोमबार नाम र स्थायी राजधानी पाएको छ । प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट यो यसको टुङ्गो लागेको हो ।
प्रदेशको राजधानी जनकपुर धाम तय भएको छ भने प्रदेशको नाम मधेस प्रदेश राखिएको छ ।
मधेस प्रदेशका लागि ९९ जनाले मतदान गरेका थिए त्यसमा ८० मत मधेस प्रदेशको पक्षमा खसेको थियो ।
प्रदेशको नामकरण र स्थायी राजधानीबारे अन्य प्रस्ताव पनि पेस भएकोमा सुरुमै स्थायी राजधानी जनकपुरधाम र नाममा मधेसको पक्षमा दुई तिहाई बहुमत पुगेपछि अन्य प्रस्ताव निर्णयार्थ पेस गरिएको थिएन ।
खुसियालीमा सार्वजनिक विदा
प्रदेशको नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम भएको भन्दै प्रदेश सरकारले मंगलबार बिदाको घोषणा गरेका छन् । मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।
चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएका छन् । मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जना स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेको थियो ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मधेस प्रदेश र राजधानी जनकपुर भएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा ।’