काठमाडौं । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्वाचन आयोगले दिएको समयानुसार आगामी २०७९ वैशाख भित्रै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको सत्ता घटकहरुको बैठक स्थानीय तहको निर्वाचनमा वैशाखमै गर्ने गरी सरकारलाई सुझाव दिने भएको छ ।
केही दिनअघि निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो।
सत्तारूढ कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको भेटवार्तापछि राजनीतिक समन्वय समितिको बैठक बसेको हो ।
सरकार सञ्चालनमा सहयोगका लागि कांग्रेसका वरिष्ठ नेता पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसबाटै कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।