काठमाडौँ । भीडभाड र महोत्सवको मौका छोपी गरगहना र नगद चोर्ने एउटा गिरोह नै पक्राउ परेको छ । पक्राउ पर्नेमा भारत गोरखपुर स्थायी ठेगाना भएकी प्रियङका देवी सोही ठाउंँकी अतिम्मा देवी, पायल देवी, नितु देवी, शिला देवी, मञ्जु देवी र आरोही भारती रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकर संक्रान्तिका अवसरमा देवघाटमा लाग्ने मेला तथा अन्य महोत्सवमा हुने भिडभाडमा सर्वसाधारणको नगद र गरगहना चोर्न आएका र चोरीमा संलग्न भारतीय मूलका महिला पक्राउ परेको हो ।
कार्यालयका प्रवक्ता नरहरि अधिकारीले शनिबार सांढे १२ बजे उनीहरूले भरतपुर महानगरपालिका–१० बस्ने बसन्त गिरी र सीता गिरीको नारायणगढस्थित शहिदचोकको फुटपाथमा सामान किन्ने क्रममा सीताको झोलामा रहेको नगद ६ हजार, एटिएम कार्ड २ थान र ९४ हजार मूल्य बराबरको २ थान सुनको औंठी चोरेको जानकारी दिए ।
चोरी भएपछि तत्काल त्यहींँ वरिपरि रहेका ती महिलाहरूमाथि खानतलासी गर्दा उक्त चोरी भएको सामान फेला परेको हो ।
सो गिरोहले सोही दिन भरतपुर महानगरपालिका–५ बस्ने मायादेवी श्रेष्ठको २ लाख बराबरको सुनको सिक्री चोरेको किटानी जाहेरीको आधारमा उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।