काभ्रे । जिल्लाको चौंरीदेउराली गाउँपालिकाका र नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् ।
चौरीदेउराली गाउँपालिकाले स्वास्थ्य तथा आकस्मिक बाहेक अन्य सेवाका प्रशासनिक काम कारबाहीहरु बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले एक साता नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने जानकारी दिए ।
गाउँपालिकाले सूचना जारी गर्दै कर्मचारी र समुदाय स्तरका नागरिकहरु समेत कोरोनाबाट संक्रमित भइ सार्वजनिक जनजीवनमा समेत अति प्रभावित हुन सक्ने भएकाले माघ ५ गतेदेखि माघ ११ गतेसम्मका लागि यस गाउँपालिकाकाको कार्यपालिकाबाट सम्पादन हुने स्वास्थ्य तथा आकस्मिक बाहेक अन्य सेवा प्रशासनिक काम कारबाहीहरु बन्द गरिएको जनाइएको छ ।
नमोबुद्धका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगर प्रमुखलाई शनिबार संक्रमण देखिकोमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई मंगलबार संक्रमण पुष्टि भएको हो ।
नगरपालिकाका अनुसार १७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । नमोबुद्ध नगरपालिकाले नगर क्षेत्रभित्र अनावश्यक भीडभाड नगर्न, बाहिर निस्कदा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सजगता अपनाउन, कुनै लक्षण देखिए स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।