
झापा । हिमाल सुरक्षा परिषद् मेची अञ्चल नामक संस्थाले राखेको कुकर बम नेपाली सेनाले निष्क्रिय गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्ट्यान्डमा बम राखिएको थियो ।
आइतबार बिहान पौने ६ बजे स्थानीयले कुकुर बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबरपछि प्रहरी टोली घटनास्थल पुगेर नेपाली सेनालाई खबर गरेको थियो । श्री नयाँ श्रीनाथ गण चारआलीबाट खटिएको टोलीले बमलाई निष्क्रिय गरेको गणका प्रमुख सेनानी अमरजंग थापाले जानकारी दिए ।


‘कुकरभित्र विस्फोटक पदार्थ राखिएको थियो । बारुद, तार र बेरिङ भेटिएको छ,’ प्रमुख सेनानी थापाले भने, ‘यसलाई आइडी अर्थात् कुकर बम भनिन्छ । डिस्पोजपछि बनाइएको बमको सेनाले जाँच गर्दैछ ।’
जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलका अनुसार हिमाल सुरक्षा परिषद् मेची अञ्चल नामक संस्थाले पर्चासहित बम राखेको बताए । पर्चामा विभिन्न २० बुँदे माग छ । जिल्लामै पहिलो पटक नाम सुनिएको परिषद्ले जिल्लावासीलाई तर्साउन बम राखेको हुन सक्ने उनको भनाई छ ।
पर्चामा नेपालमा धर्मनिरपेक्षता खारेज गरी हिन्दु राज्य कायम गरिनु पर्ने, संघीयता खारेज गरिनु पर्ने, नागरिकता छानबिनका लागि आयोग गठन हुनुपर्ने, पुरानै पाँच विकास क्षेत्र कायम गरिनुपर्ने लगायतको माग रहेको एसपी पोखरेलले बताए ।