सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । हरिहरपुरगढी–४ बाह्रबीसेमा राति करिब साढे ९ बजेको समयमा बालुवा लोड भएको ना ५ त ५०६३ नम्बरको ट्याक्टर पल्टिँदा हरिहपुरगढी–३ का ३५ वर्षीया काजीमान जिम्बाको मृत्यु भएको हो ।
मदन भण्डारी राजमार्गमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिएर आफैँ अनियन्त्रित भएको ट्याक्टर सडकबाट १५ फिट तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले ट्याक्टरको ठक्करबाट काभ्रेपलान्चोक जिल्लाको पाँचखालका श्याम गौतम घाइते भएका जानकारी दिए ।
उनका अनुसार घाइते गौतमको स्वास्थ्य अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्या चौकीमा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।