काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेको आरोप लगाएको छ ।
आइतबार विज्ञप्ति जारी गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानका धाराको अपव्याख्या गरे सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन पर धकेल्दै लोकतन्त्रको मर्ममा प्रहार गर्न उद्यत रहेको आरोप लगाएको हो ।
अध्यक्ष ओलीले गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ वैशाखमा गर्ने प्रस्ताव कुनै असल मनशायले नआएको बताएका हुन् ।
अध्यक्ष ओलीले गतवर्ष आफूले ताजा जनादेशको माग गर्दा अनेकौं प्रहार गरिएको भन्दै जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरिएको बताएका छन् ।
उनले सरकारको ६ महिने कार्यकालले मुलुकलाई गम्भीर संकट तर्फ धकेलेको पुष्टि गरेको दावी पनि गरेका छन्। देशको वाह्य सम्बन्धमा गम्भीर असन्तुलन पैदा गराएको भन्दै ओलीले गठबन्धनको सरकारको चर्को आलोचना गरेका हुन्।
मुलुकको वर्तमान अवस्थाका बारेमा पत्रकार सम्मेलनमार्फत् पार्टीका आधिकारिक धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष कमरेड ओलीमा कोभिड संक्रमण पुष्टि भएपछि प्रेस बक्तव्यमार्फत सार्वजनिक गरिएको हो ।