♦ विशाल श्रेष्ठ
सउल, दक्षिण कोरिया । इपीएस प्रणाली मार्फत दक्षिण कोरिया आएका एक नेपालीलाई कोरियन सरकारले एक महिना नपुग्दै नेपाल फिर्ता पठाउने भएको छ ।
मंगलबार निकालेको गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सार्वजनिक सुचना अनुसार उक्त युवालाई लागूऔषधको कसुरमा कोरियामा बस्न नपाउने गरि नेपाल फिर्ता पठाउने भएको हो ।
कोरिया प्रस्थान भए लगत्तै गरिने स्वास्थ्य परिक्षणमा युवाको रगतमा लागु पदार्थको मात्रा देखिएको एनआरएनएले जनाएको छ ।
एनआरएनए दक्षिण कोरियाले जारी सूचनामा दक्षिण कोरिया आउने तयारीमा रहेका नेपालीलाई सचेत समेत गराएको छ । ‘कोरिया आउनुभन्दा अगाडी नेपालमा लागूपदार्थ सेवन गर्नु भएको छ भने कोरिया आएपछि गरिने स्वास्थ जाँचमा तपाईको रगतमा ड्रग्सको मात्रा देखिन्छ । जसका कारण नेपाल फर्कनु पर्नेछ,’ संघले सूचनामार्फत सचेत गराएको छ ।
त्यस्तै एनआरएनएले रगत परीक्षणको रिपोर्टमा लागू पदार्थले मात्र नभइ बिरामी हुँदा प्रयोग भएका औषधीले समेत ड्रग्सको मात्रा देखिने भएकोले आफूले प्रयोग गरिरहेका औषधीहरुको विवरणसहित आधिकारिक कागजात साथमै राख्न संघले सुझाव दिएको छ ।
भाङको अचार खाने गर्दा पनि रगतमा लागु पदार्थको मात्रा देख्ने समस्या आउन सक्ने भन्दै कोरिया आउनुपूर्व यसको सेवन नर्गन संघले आग्रह गरेको छ ।
‘इपीएसमार्फत आएका श्रमिकको स्वास्थ्य परीक्षण गर्दा रगतको पनि जाँच हुन्छ । रगतमा ड्रग्सको मात्रा देखिएमा पुन : परीक्षण गरिन्छ । दोस्रो पटक पनि ड्रग्सको मात्रा देखियो भने यहाँको सरकारले देश फिर्ता पठाइदिन्छ । निकै लामो समयको पर्खाई र ठूलो मेहनतका साथ कोरियन भाषा परीक्षा पास गरि नेपाली कामदारहरु दक्षिण कोरिया रोजगारीका लागि पुग्ने गर्छन् । त्यसैले जानु अघि सचेत रहनु जरुरी छ ।