
महाभारत, काभ्रे । जिल्लाको महाभारत गाउँपालिका–१ आरुबोटेका तीन बालक बेपत्ता भएका छन् । महाभारत-१ का वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित)का अनुसार उनीहरु आइतबारदेखि बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा सोही वडाका कान्छामान जिम्बाको १२ बर्षीय छोरा मोटे भनिने नीरबहादुर जिम्बा, मानबहादुर जिम्बाको १३ बर्षीय छोरा ज्ञानबहादुर जिम्बा र वीरबहादुर जिम्बाको १२ बर्षीय छोरा खेलमान जिम्बा रहेका छन् ।


उनीहरु मध्ये नीरबहादुर र खेलमान गोकुले माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छ भने वीरबहादुर कक्षा ५ मा अध्ययनरतका विद्यार्थी हुन् ।
पारिवारिक स्रोतलाई उदृत गर्दै वडा अध्यक्ष जिम्बाले सिन्धुली जिल्लाको रामपुर भन्ने ठाउँसम्म पुगेको जानकारी घरपरिवारले प्राप्त गरेपनि त्यस पछि कहाँ पुगे भन्ने जानकारी नभएको बताए ।
उनीहरु किन, कसरी र कहाँ हिडेको घरपरिवार कोहि कसैलाई थाहा नभएको बालकहरुको परिवारले जनाएको छ । बालक परिवारले महाभारत र रामपुर क्षेत्रमा खोजी गरिए पनि नभेटिएको जनाएको छ । त्यस्तै बालकहरु सिन्धुली बजारतिर पुगेको हुन सक्ने रामपुरका स्थानीयहरुको अनुमान छ ।
गोकुले माविका शिक्षक तथा स्थानीय दिलबहादुर जिम्बाका अनुसार माघ ९ गते बिहान रामपुरको बस चडेर गएका उनीहरुलाई सोला भञ्ज्याङ् बसले ओरालेर राखेकोमा फेरि उनीहरु बुढाखानीको बसमा घर्तिछाप सम्म पुगेका थिए ।
शिक्षक जिम्बाले भने, ‘बस चढेर घर्तिछाप पुगेका उनीहरुलाई मैले घर फर्किनु भन्दै गाडि रोकेर त्यही ओरालेर राखेको थियो तर मान्छे घर नफर्की अन्तै लागेछ ।’
शिक्षक जिम्बाले ती ३ जना बालकहरु मध्ये १ जनाले सर्ट र २ जना टिर्सट लगाएका अवस्थामा आफुले घर्तिछापमा भेटेको बताए ।
उनका अनुसार एक जनाले सेतो दर्सावाला सर्ट र अर्कोले कलो दर्सावाला टिर्सट लगाएका थिए । त्यस्तै एक जनाको हातमा गुलेलीसमेत रहेको थियो ।
कोहि कसैले भेट्नु भएमा नजिकैको प्रहरी चौकी अथवा अमृत लामा (९८४१५०२८९७), वडा अध्यक्ष कान्छामान जिम्बा (९८५११०२३३६), दिलबहादुर जिम्बा (९८६४२३७९५९ ) वा परिवारलाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।