
काठमाडौं । सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) लगायतका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ।
नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव समेत रहेका केन्द्रीय सदस्य श्रीराम ढकालले केन्द्रीय समितिको बैठक बोलाउने तयारी भइरहेको बताए।


‘२७ गते केन्द्रीय समितिका सदस्यहरुलाई सम्पर्क हुन्छ। २८ गतेबाट बैठक बस्ने तयारी भइरहेको छ,’ उनले भने, ‘पार्टी पदाधिकारी, स्थायी समिति लगायतका समिति गठन लगायतको अजेण्डामा केन्द्रित भएर छलफल हुन्छ।’
उनले पछिल्लो राजनीतिक घटनाक्रम र एमसीसीका बारेमा पनि केन्द्रीय समितिको बैठकमा छलफल हुने बताए।
केन्द्रीय समितिको बैठकमा बृहत् छलफल गरेपछि मात्रै नेकपा माओवादी केन्द्रले यसका बारेमा आवश्यक निर्णय गर्ने तयारी गरिरहेको छ। एमसीसीको विषयलाई लिएर ५ दलीय सत्तारुढ गठबन्धन दलभित्र अन्तरविरोध छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त रुपमा एमसीसी परियोजनलाई लेखेको पत्र सार्वजनिक भएपछि त्यसले नेकपा माओवादी भित्र पनि तरंग ल्याएको छ।
पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको आइतबार र सोमबार बिहान भएको अनौपचारिक छलफलबाट केन्द्रीय समितिको बैठकमा एमसीसीका बारे थप प्रष्ट पार्ने सहमति बनेको हो।
एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि प्रचण्डको सचिवालयले ध्यानाकर्षण भएको भन्दै पत्रका विषयलाई अतिरञ्जित गर्न खोजिएको जनाएको थियो।
प्रधानमन्त्री देउवा प्रतिनिधि सभाको आगामी बैठक (माघ २६ गते) एमसीसी संसद्मा टेबुल गर्ने पक्षमा छन्। देउवा एमसीसीलाई जसरी पनि संसदीय प्रक्रियामा ल्याउन सक्रिय भएपछि गठबन्धनमा रहेका अन्य दलहरु दबाबमा परेका छन्।