
काठमाडौँ । हिमपातले सडक यातायात नखुल्दा बागलुङको दुर्गम क्षेत्रकी एक सुत्केरीलाई स्वास्थय समस्या भएपछि स्वास्थ्यकर्मीले ३ घण्टा हिँडेर उद्धार गरेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बागलुङको बडीगाड गाउँपालिका–३ सिसाखानीस्थित सत्डाँडाकी २६ वर्षीया सीता सामलको उद्धार गरिएको जानकारी दिए ।


आइतबार राति करिब एक बजे घरमै सुत्केरी भएकी सामलको साल अड्किएपछि तत्कालै उपचारको आवश्यकता देखिए पनि हिमपातले सडक अवरुद्ध हुँदा उनको उद्धार हुन सकेको थिएन ।
सुत्केरीको अवस्था जटिल बन्दै गएको खबरपछि दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत दुई जना स्वास्थ्यकर्मी राधा गिरी र दीपक थापाले तीन घण्टाको पैदल यात्रा गरेर सामलको घरमै पुगेर उनको ज्यान बचाएका हुन् ।
शर्माका अनुसार ती दुई स्वास्थ्यकर्मीले सुरुमा सक म्यानेजमेन्टको औषधि दिए पनि त्यसले काम गरेको थिएन ।
बिरामीको अवस्था बिग्रन नदिन बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा।अनिल केसीलाई फोन गरेर उनैको सल्लाहअनुसार औषधि दिएपछि सीताको स्वास्थ्यस्थितिमा सुधार आएको थियो ।
हिमपातका कारण विद्युत् सेवा र मोबाइल नेटवर्कमा समेत समस्या भोगिरहेको बेलामा स्वास्थ्यकर्मीको सक्रियतामा उनको अवस्था थप जटिल हुनबाट जोगिएको हो ।
उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारको लागि पोखरास्थित् मणिपाल शिक्षण अस्पताल लगेका छन् ।