काभ्रे । स्थापनाको ३२ बर्षपछि काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिको आफ्नै भवन बनेको छ ।बहुदल स्थापनापछि खेलकुद विकास ऐन, २०४८ को व्यवस्था अनुसार गठन भएका जिल्ला खेलकुद विकास समितिलाई मुलुक प्रादेशिक संरचनामा गएपछि भवन निर्माणको लागि बजेट विनियोजन भएको हो ।

बाग्मती प्रदेश सरकारले आर्थिक बर्ष २०७९/८० मा समितिको भवन निर्माणको लागि प्रदेश खेलकुद विकास परिषद्मार्फत १ करोड बजेट बिनियोजन भएको थियो ।निर्माण व्यवसायी ६७ लाखमा सम्झौता गरि काम अधुरो नै राखेर ‘काम गरेजतिको भुक्तानी लिएर’ जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानविर तामाङले जानकारी दिए ।

समितिका पूर्वअध्यक्ष रहेका रघुवर चौप्रधानका अनुसार, समितिले भक्तेश्वर आधारभूत विद्यालयको स्वामित्वमा रहेको बुडोलस्थित घरबाट लामो समय कार्यालय सञ्चालन भएको थियो । यसअघि कार्यालय भाडामा लिएर सञ्चालन हुँदै आएको थियो ।

नवनिर्मित भवन उद्धघाटन गर्दै बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेलकुद क्षेत्रमा प्रदेश सरकारले बजेट बढाएको भन्दै खेलकुद पूर्वाधारका कामहरु भइरहेको बताए ।जम्कट्टेलले खेलाडीहरु राष्ट्रका सम्पति, पूँजी र राष्ट्रको गौरव भएकाले खेलाडीहरुलाई संरक्षण तथा प्रर्बद्धन गर्नुपर्ने बताएका छन् ।‘तुलनात्मक रुपमा खेलकुदको क्षेत्रमा कम बजेट बिनियोजन भएपनि प्रदेशले खेलकुदका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि खेलकुद पूर्वाधार विकास, खेलाडी उत्पादन तथा प्रर्बद्धन लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हुन्छ । यसमा बागमती प्रदेशको ध्यानाकर्षण भएको छ । खेलकुद क्षेत्रको विकासका लागि प्रदेशले आवश्यक सहयोग, सहकार्य र समन्वय गर्नेछ ।’

खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामाले खेल पूर्वाधारसंगै खेलाडी उत्पादनमा पनि जोड दिनुपर्ने बताए । लामाले विविधताभित्रको एकताले नै बलियो समाज निर्माण गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । त्यस्तै, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले खेलकुदको क्षेत्रको विकासका लागि खेलकुद पूर्वाधार विकास, खेलाडीलाई खेलकुदमै आत्मनिर्भर बनाउनुपर्ने र खेलाडी उत्पादनमा विशेष पहल गर्नुपर्ने बताए ।

श्रम, यातायात तथा रोजगारमन्त्री लक्ष्मण लम्सालले खेल क्षेत्रकै आम्दानीबाट खेलाडी बाच्ने बातावरण बनाउन सरकारले लगानी गर्नुपर्ने बताए ।

बाग्मती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका पूर्वमन्त्री रहेका प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले पूर्वाधार विना खेलकुद क्षेत्रको विकास हुन नसक्ने भन्दै खेलाडी उत्पादनका लागि बेला–बेलामा खेलकुद प्रतियोगिता आयोजना हुनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति काभ्रेका पूर्वअध्यक्षहरु गोरेबहादुर थापा, सौरभराज कायष्ठ, तिर्थबहादुर पसखल, विकासकुमार श्रेष्ठ, लोकनारायण भैल, कुमार थापा, रघुबर चौप्रधान, जयबहादुर वाइवा, सचितानन्द के.सीलाई सम्मान गरिएको थियो ।

१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

काभ्रेमा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा यहाँ १३ वटा पालिकाबाट १४ सय ३२ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने टिमलाई रनिङ शिल्ड, मेडल, ट्रफी, प्रमाण–पत्र वितरण गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय