महाभारत, काभ्रे । काभ्रे जिल्लाको डाँडापारी स्थित महाभारत गाउँपालिकाको दसौं हिउँदे गाउँसभा सम्पन्न भएको छ । माघ २३ गते आईतबार पालिकाको सभाहलमा हिउँदे गाउँ सभा भएको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका क्रियाकलापहरुको बारेमा समीक्षा गर्दै गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको हो । पालिकाको हिउँदे अधिवेशनमा स्वीकृत कार्यक्रमहरुको प्रगती समीक्षा, नीति तथा कार्यक्रम र कमीकमजोरीहरु पहिल्याउने र नीराकरण गर्ने रणानीतिहरु बनाउँदै कार्यक्रम सम्पन्न गरिएको छ ।
गाउँपालिकाका गौरवका योजनाहरुलाई निरन्तरता दिने,सडक,खानेपानी,सिचाँई,कृषि,शिक्षा, स्वास्थ्य लगायत हाल निर्माण भइरहेको केन्द्रीय विद्युत लाइन अन्तर्गत गाउँपालिकाको सबै घरधुरीलाई १ हजार बराबरको मिटर बक्समा अनुदान दिने निर्णय गरेको पालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले बताउनु भयो ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार)को अध्यक्षतामा आठै वडा र गाउँपालिका स्तरीय केही योजना सहित सम्पन्न गरियो । गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।