
काभ्रेः विहीवार सभामुख अग्नी सापकोटालाई कालोझण्डा देखाउन पुगेका काभ्रेको धुलिखेल नगरपालिका–११ का वडा अध्यक्ष विष्ष्ण धिताल (काभ्रेली) घाईते भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूको कार्यकर्ताले प्रहरीको सुरक्षाबीच सभामुख सापकोटालाई अवरोध गर्न खोजेपछि प्रहरीले हटाउने क्रममा केहीबेर झडपसमेत भएको थियो ।


सो क्रममा अनेरास्ववियूको कार्यकर्ता बनेर सभामुख सापकोटालाई कालो झाण्डा देखाउन पुगेका वडा अध्यक्ष धिताल घाइते भएका हुन् । धितालले एमालेबाट वडा अध्यक्ष जितेका थिए ।
झडापमा उनीसँगै अनेरास्ववियुका जिल्ला इञ्चार्ज शालिकराम पराजुली, सचिव मिलन गौतम र उपसचिव युवराज दाहाल घाइते भएका छन् । एमाले काभ्रेका उपाध्यक्ष चन्द्र लामा अस्पतालमा घाइतेहरुलाई भेट्न पुगेका थिए ।
सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन काभ्रे आएका सभामुख सापकोटालाई अनेरास्ववियुका कार्यकर्ताले एमाले विभाजनमा भूमिका खेलेको र एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै कालो झण्डा देखाएका थिए ।
अनेरास्ववियू कालो झण्डा देखाएको भने पनि एमाले काभ्रेका नेता तथा युवा संघका कार्यकर्ता उत्तिकै मात्रामा सहभागी थिए । यसअघि सभामुख सापकोटा सिन्धुपाल्चोक जाने क्रममा पनि अनेरास्ववियुका कार्यकर्ताले बनेपामा कालो झण्डा देखाएका थिए ।
तस्वीरः सविन घिमिरेको फेसबुकबाट