
काभ्रे । आहाना नेपाल फाउण्डेशनले काभ्रेको विकट डाँडापारी क्षेत्र अन्तर्गत खानीखोला गाउँपालिका–४ स्थित मोतिविन्दु पीडित ललिमाया जिम्बालाई आर्थिक सहयोग प्रदान गरेको छ । पुर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ ‘लालध्वज’ले मोतिविन्दु पीडित ललिमायालाई भेटेरै आँखाको शल्यक्रियाको लागि उक्त सहयोग रकम हस्तान्तरण गरेका छन् ।
समाजसेवी तथा युवा नेता अविरल जिम्बाको मुख्य पहल तथा भिम गोले तामाङको विशेष सक्रियातामा फाउन्डेशनले जुटाएको सहयोग रकम हस्तान्तरण भएको हो । सहयोग रकम नेता दोङसँगै समाजसेवी तथा नेता इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, दैवलाल घिसिङ ‘अनुशिल’ र दावा घिसिङ लगायतको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।


समाजसेवी तथा पहलकर्ता जिम्बाले दुवै आँखाको शल्यक्रियाको लागि आर्थिक समस्याका कारण शल्यक्रिया हुन नसकेको थाहा पाएपछि पीडित तामाङलाई आर्थिक रुपमा सहयोग गरेको बताए ।
‘आर्थिक अभावको कारण शल्यक्रियामा ढिलाई भएको खबर पाएपछि मैले केही सहयोगको लागि पहल गर्ने बचन दिएको थिएँ, त्यही बचन अनुसार आँखाको शल्याक्रियाको लागि हामीले सहयोग गरेका हौँ ।’
उनले भने, ‘आगामी दिनमा पनि मोतिविन्दु भन्दा जटिल एंव प्राणघातक रोग लागेको तर आर्थिक अभावको कारण उपचार गर्न नसकेको जुनसुकै पीडितलाई पनि सहयोग गर्ने हाम्रो अभियान रहेको छ ।’
यसअघि पनि विभिन्न रोगका पीडितहरुलाई सहयोग गरिसकेको बताउँदै समाजसेवी जिम्बाले पीडितहरुको आर्थिक अवस्थाको पहिचान गरेर मात्रै सहयोग गर्ने गरेको पनि प्रष्ट पारे । उनका अनुसार मोतिविन्दु पीडितलाई नगद पन्ध्र हजार रुपैयाँ सहयोग गरेको छ ।
विगत लामो समयदेखि आर्थिक अभावमा दुवै आँखाको मोतिविन्दु पीडित ललिमाया शल्यक्रिय रोकिरहेकामा हालै आर्थिक सहयोग पश्चात् जिल्लाको बनेपास्थित् रेयूकाई एईको मासुनागा आँखा अस्पतालमा दुवै आँखाको शल्यक्रिय सफल भएका छन् ।
आँखाको शल्यक्रिय सफल भएसँगै पीडित ललिमायाले बषौँदेखि बन्द आँखा पुनः पहिले झैँ देख्ने बनाउन सहयोग गरेर नयाँ जीवन दिएकोमा सहयोगी संस्था तथा पहलकर्ता र डाक्टर लगायतलाई धन्यवाद दिएका छन् ।
खुशी हुँदै उनले भने, ‘मोतिविन्दुको कारण संसार नदेखेरै मर्ने भयो भन्ने लागेको थियो । तर आहाना नेपालको सहयोगले फेरी देख्न सक्ने भए ।’