रुस र युक्रेनको विवाद अन्ततः युद्धमा परिणत भएको छ । युक्रेनमा अहिले अन्योलको स्थिति छ र घटनाक्रम तीव्र गतिमा विकसित भइरहेको छ। यसक्रममा रुसले गरेको आक्रमणमा ४० जना युक्रेनी नागरिकको मृत्यु भएको छ । मारिनेहरू सैनिक मात्र वा नागरिक पनि हुन् भन्ने खुलाएको छैन ।
आक्रमणबाट दर्जनौं मानिस घाइते भएको राष्ट्रपतिका सल्लाहकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसअघि युक्रेनी सेनाले रूसले स्वतन्त्र राज्यको मान्यता दिएको लुहान्स्कमा ५० जना रुसी सैनिक मारिएको दाबी गरेको थियो ।
पूर्वी सहर खार्किभनजिकै चार वटा रुसी सैनिक ट्यांक ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ । पूर्वी युक्रेनका अन्य क्षेत्रमा हेलिकप्टर सहित ६ वटा सैनिक जहाज खसालेको युक्रेनी सेनाले दाबी गरेको छ । रुसले भने आफ्ना जहाज र बख्तरबन्द गाडीमा क्षति भएको अस्वीकार गरेको छ । रुसले आफ्नो आक्रमण युक्रेनी सेना र सैनिक संरचना लक्षित रहेको बताएको छ ।
यसैबीच, युक्रेनले रुसविरुद्ध लड्न आमनागरिकलाई हतियार दिने भएको छ । रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गर्दै राष्ट्रपति जेलेन्स्कीले रुससँग नझुक्ने चेतावनी दिएका छन् ।