युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन्।

अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन्। उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन्। रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ। तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन्।

युद्ध मैदानबाट परको कुरा गर्नुपर्दा आर्थिक र कूटनीतिक कदमहरूले निरन्तरता पाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसीहरूलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन्। संयुक्त राष्ट्रसङ्घीय महासभाको एउटा विरल आपत्कालीन सत्रले तत्काल लडाइँ रोक्नुपर्ने महासचिवको माग सुनेको छ।

यसैबीच, युक्रेन बेलारुस सीमामा रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको छ। वार्ताले कुनै ठूलो नतिजा निकाल्ने खासै अपेक्षा गरिएको थिएन। तर एक युक्रेनी अधिकारीले दुवै पक्ष आआफ्नो राजधानी फर्केर आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताए।

रुसका अनुसार दुवै पक्ष वार्ता जारी राख्न सहमत भएका छन् र आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने सहमति भएको छ। रुसले अन्धाधुन्ध आवासीय क्षेत्रहरूमा गोलाबारी गरिरहेको आरोप लगाउँदै त्यो मानवता विरुद्धको अपराध हुनसक्ने मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ।
तर आवासीय क्षेत्रलाई निशाना बनाइरहेको कुरा रुसले अस्वीकार गर्दै आएको छ।

यस्तै, युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको संघर्षका सुरुका चार दिनमा ५ हजार बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ ।
फेसबुकमा प्रकाशित विज्ञप्तिमा युक्रेनमा झन्डै ५ हजार ३ सय सैनिकको ज्यान गएको तथा १ सय ९१ वटा रुसी ट्याङ्क, २९ वटा लडाकु विमान, २९ वटा हेलिकप्टर र सैनिकहरू बोक्ने ८ सय १६ वटा वाहन नष्ट पारिएको दाबी गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यसको स्वतन्त्र पुष्टि हुन नसकेको बताएका छन् । यद्यपि बेलायतको रक्षा मन्त्रालयका अनुसार द्वन्द्वको प्रारम्भिक चरणमा रुसतर्फ ठूलो सैन्य क्षति भएको छ ।

रुसी रक्षा मन्त्रालयले आफ्नो पक्षमा पनि क्षति भएको स्वीकारेको भोलिपल्ट युक्रेनले यस्तो दाबी गरेको हो । तर रुसले आफूतिर भएको मानवीय क्षतिको कुनै विवरण दिएको छैन । संयुक्त राष्ट्रसङ्घीय पर्यवेक्षकहरूले युक्रेनमा भएका संघर्षमा कम्तीमा ९४ जना गैरसैनिक नागरिकको मृत्यु भएको जनाएका छन् । राष्ट्रसंघकाअनुसार रुसी आक्रमणले युक्रेनमा गम्भीर मानवीय समस्या सिर्जना गरेको छ ।

उसले युद्धमा मर्ने मानिसको संख्या निकै धेरै भएको हुनसक्ने जनाएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी मामिला हेर्ने निकायले ४ लाख २२ हजार मानिसहरू युक्रेनबाट भागेर छिमेकी देशमा पुगेको जनाएको छ ।अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरू देशभित्रै विस्थापित भएको यूएनएचसीआरले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय