काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको विभिन्न प्रस्ताव पारित गर्दै पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबारदेखि काठमाडौंमा जारी मोर्चाको ७ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सदस्यहरुको पहिलो पूर्ण बैठक शनिबार सम्पन्न भएको हो ।
बैठकले आगामी मंसिर ०५ गतेसम्म देशभर ‘तामाङ समुदायसँग तामाङ राष्ट्रिय मुक्ति मोर्चा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङले जानकारी दिए ।


अभियानका क्रममा विभिन्न प्रदेशहरुको अधिवेशन सम्पन्न गर्ने उनले बताए । त्यसका साथै बाँकी जिल्ला र पालिकास्तरको भेला अधिवेशनहरु समेत यो अवधिमा हुनेछ ।
मोर्चाले अभियानका क्रममा प्रत्येक तामाङहरुको घरमा पुगेर यथेष्ट रिपोर्ट लिने लक्ष्य समेत लिएको छ । तामाङ समुदायको घरमा पुग्दा सदस्यता वितरणदेखि माओवादी केन्द्रको नीति र आवश्यकताबारे समेत प्रशिक्षित गराउने अध्यक्ष तामाङको भनाई छ ।
त्यसैगरी बैठकले सबै प्रदेशका संयोजकहरु समेत तोकेको छ । सम्बन्धित प्रदेशका संयोजकले अब प्रदेशस्तरको बैठक राखी अभियान सञ्चालन गर्नेछ । बैठकबाट विभिन्न विभागहरुका साथै उपत्यका विशेष ब्युरोको समेत गठन भएको छ ।
संगठन विभाग प्रमुख लिला कुमार घलान, स्कुलिङ विभाग प्रमुख कार्यालय, अध्ययन/अनुसन्धान विभाग प्रमुखः कुबेर सिं दोङ, प्रचार प्रसार/ प्रकाशन विभाग प्रमुख रक्षे बहादुर तामाङ, भाषा/साहित्य विभाग प्रमुख हिरालाल दोङ, प्रवास विभाग प्रमुख मिलन तामाङ, संस्कृति विभाग प्रमुख विश्व दोङ, न्याय तथा कानुन विभाग प्रमुख राममाया तामाङ, बैदेशिक रोजगार/ शिक्षा विभाग प्रमुख कुन्छा दोर्जे डिम्दोङ, युवा तथा खेलकुद / बिद्यार्थी विभाग प्रमुख फुर्साङ मोक्तान, उत्पादन/ रोजगार विभाग प्रमुख बिजय तामाङ र निर्माण व्यावसायी विभाग प्रमुख प्रतापसिं तामाङ रहेको महासचिव लिला कुमार घलानले जानकारी दिए ।
त्यस्तै बैठकले बागमति प्रदेश संयोजक कर्म लोप्साङ, मधेश प्रदेश संयोजक अष्ट बहादुर लोप्चन र कोशी प्रदेश संयोजक ईन्द्र कुमार योञ्जनलाई तोके र गण्डकी लगायत अन्य प्रदेश कार्यालयले हेर्ने निर्णय भएको छ ।
दुई दिनसम्म चलेको बैठकमा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ, स्थायी कमिटि सदस्य ओनसरी घर्ती मगर, परशुराम तामाङ, केन्द्रीय सदस्य सुर्यमान दोङ लगायतले समसामयिक राजनीतिक विषयवस्तुबारे प्रशिक्षण दिएका थिए ।










