
काठमाडौँ । संयुक्त राष्ट्रसंघः युक्रेनमा रूसले गरेको आक्रमणको विषयमा सुरक्षापरिषद्ले १९३ सदस्यीय राष्ट्रसंघको महासभाको ‘आपत्कालीन विशेष सत्र’ बोलाएको छ । बुधबार यसबारे विशेष छलफल हुनेछ ।
यसअघिको बैठकमा रूसले युक्रेनमाथिको आक्रमणको प्रस्तावलाई रोक्न भिटो प्रयोग गरेको थियो । युक्रेनको वर्तमान अवस्था र सुरक्षा परिषद्कको घटनाक्रमका कारण महासभाको ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला साहिदले राष्ट्रसङ्घका लागि युक्रेनका स्थायी प्रतिनिधि राजदूत सर्गेई किसलित्सियासँग पनि भेट गरेका छन् ।


युक्रेन संकटमा विशेष आपत्कालीन सत्र बोलाउनका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षापरिषद्मा भएको मतदानमा भारत अनुपस्थित रह्यो । सुरक्षापरिषद्ले मुख्य रूपमा राष्ट्रसंघका सदस्य राष्ट्रहरूको शान्ति र सुरक्षाको लागि जिम्मेवारी लिन्छ । यसैगरी महासभाले सबै देशहरूका लागि संयुक्त रूपमा नीति निर्माण गर्ने गरेको छ ।
यो विषयलाई संयुक्त राष्ट्रसंघीय महासभामा लैजाने निर्णय भएको हो । सन् १९८२ पछि पहिलोपटक सुरक्षापरिषद्ले विशेष आपत्कालीन सत्रका लागि महासभामा मुद्दा पठाएको हो ।
युक्रेन संकट अब महासभाको आपत्कालीन विशेष सत्रमा छलफल हुनेछ । स्मरणीय छ‚ सन् १९५० देखि हालसम्म महासभाका १० वटा मात्रै विशेष सत्र बोलाइएको छ ।
नेपाल
नेपालले राष्ट्रसंघीय प्रस्तावलाई समर्थन गर्छौं भन्ने आशय व्यक्त गर्दै युक्रेनको समर्थन गरेको छ । नेपालले आफ्नो आधिकारिक धारणा जानकारी गराउन बाँकी छ ।
भारत
संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले युक्रेन संकटबारे सुरक्षापरिषद्को बैठकमा भने‚ ‘हामी हिंसा र दुश्मनी तुरुन्तै अन्त्य गर्ने कुरा दोहोर्याउँछौं । हाम्रा प्रधानमन्त्रीले रूसी महासंघ र युक्रेनका नेतृत्वसँगको पछिल्लो वार्तामा पनि यसैमा जोड दिनुभएको छ ।’
‘बेलारूस सिमानामा वार्ता गर्ने दुवै पक्षले गरेको घोषणाको हामी स्वागत गर्दछौँ । हामी युक्रेनमा फसेका भारतीय विद्यार्थीहरू सहित भारतीय नागरिकहरूको सुरक्षा र सुरक्षाको बारेमा गम्भीर चिन्तित छौं । सीमापारको जटिल र अनिश्चित अवस्थाले हामीलाई युक्रेनबाट भारतीयहरूलाई बाहिर निकाल्न गाह्रो बनाएको छ । सबै परिस्थितिलाई ध्यानमा राख्दै हामीले युक्रेन मुद्दामा मतदान नगर्ने निर्णय गरेका छौं ।’
अमेरिका
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि लिन्डा थोमस ग्रिनफिल्डले रूसलाई कारबाही गर्नुपर्ने बताएकी छन् ।
सुरक्षापरिषद्मा अमेरिकाले भन्यो‚ ‘हामी एक यस्तो प्रस्तावमा मतदान गर्छौं‚ जसले रूसलाई यसको अक्षम्य कार्य र उल्लङ्घनका लागि जवाफदेही बनाउनेछ । यहाँ हामी छलफल गर्दै छौं र त्यहाँ युक्रेनमा क्षेप्यास्त्र वर्षा भइरहेको छ, त्यो पनि झूटबाट बनाइएको अनुचित आक्रमणका लागि । रूसले युक्रेनबारे झूट प्रचार गर्छ । आज बिहान मात्र रूसी राष्ट्रपति पुटिनले रूसको आणविक सेनालाई उच्च सतर्क बनाएका छन् । उनी आणविक हतियार नभएको देशमा आक्रमण गरिरहेका छन् र नेटोबाट कुनै खतरा छैन ।’
चीन
चिनियाँ स्थायी प्रतिनिधि चाङ चुनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासलाई चीनले समर्थन गर्ने र रूस र युक्रेनबीच छिटोभन्दा छिटो प्रत्यक्ष वार्ताको स्वागत गर्ने बताए ।
‘हामी विश्वास गर्छौंः युक्रेनको अवस्था थप बिग्रनबाट जोगिन सबै पक्ष संयमित हुन आवश्यक छ । सन्तुलित, प्रभावकारी र दिगो युरोपेली सुरक्षा संयन्त्र निर्माण गर्नका लागि युरोपेली सुरक्षाका विषयमा समान रूपमा वार्ता गर्न र अविभाज्य सुरक्षाको सिद्धान्तलाई कायम राख्न युरोपेली पक्ष र रूसलाई चीनले समर्थन गर्छ । सुरक्षा परिषद्ले सबै देशको क्षेत्रीय शान्ति, स्थायित्व र विश्वव्यापी सुरक्षालाई प्राथमिकता दिनुपर्छ र युक्रेन समस्या समाधान गर्न रचनात्मक भूमिका खेल्नुपर्छ भन्ने चीनको विश्वास छ ।
एजेन्सी