काठमाडौं । प्रेस काउन्सिल नेपालले नाबालिक गायिका बलात्कारको आरोपमा थुनामा रहेको पल शाह र गायिकाको विषयमा पत्रकार अचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराएको छ ।
आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको छ । यस्तै, दर्ता र सूचीकरण नभएका १० वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले एक विज्ञप्ति मार्फत जनाएको छ । कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरिएको छ ।
विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष–विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लङ्घन भएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युब च्यानल)हरूमा सम्प्रेषित सामग्रीबारे काउन्सिलमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि कार्यदलसमेत गठन गरिएको छ ।